सुदूरपश्चिम

संयमीत भई समस्या समाधानमा सयोग गर्न कञ्चनपुरबासीलाई काङ्ग्रेसको आग्रह

धनगढी । प्रदेश नं ७ प्रदेशसभा, नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले कञ्चनपुर घटनालाई थप भयावह हुन नदिइ संयमित हुन सबैसँग आग्रह गरेका छन् ।

संसदीय दलका नेता डा रावलले आज पे्रस विज्ञप्ति जारी गर्दै कञ्चनपुरको भीमदत्तनगरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना तथा त्यसपछि भएका प्रदर्शनमा प्रहरीको गोलीबाट सन्नी खुनाको मृत्यु भएको तथा अन्य व्यक्ति घाइते भएको घटना गम्भीर भएको उल्लेख गर्दै मृतआत्माप्रति श्रद्धाञ्जलि र शोकमा परेका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

विज्ञप्तिमा उक्त घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कठघरामा ल्याउन अनुसन्धान टोलीद्वारा हुने अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै रावलले कैलाली र कञ्चनपुरमा बलात्कार र हत्याका घटना दोहोरिरहँदा पनि स्थिति समान्य बनाइ पीडित पक्षलाई न्याय दिने र दोषीलाई कारवाही गर्ने सवालमा प्रदेश सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।

यसैबीच विवेकशील साझा पार्टीका प्रदेश नं ७ का संयोजक गोपाल हमालले बलात्कार र हत्याका वास्तविक दोषी पत्ता लगाइ कारवाही गर्न माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर भीमदत्तनगरका सन्नी खुनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।