पर्यटन/संस्कृति

संस्कृतिको संरक्षणमा च्याजेन्ज

काठमाडौँ । पछिल्लो समय बढदै गएको महँगीका कारण काठमाडौँ उपत्यकामा प्रचलित विभिन्न जात्रा पर्व तथा संस्कृतिको संरक्षणमा चुनौती थपिएकामा चिन्ता व्यक्त गरिएको छ ।

श्री नाट्यश्वर छुट गुठीले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले जात्रा पर्व सञ्चालनका लागि गुठी संस्थानले उपलब्ध गराएको रकम वृद्धि गर्नुपर्ने सुझाइएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा रहेका कारण तीनको संरक्षणका लागि विभिन्न मन्दिर तथा जात्रापर्व सञ्चालनमा आफ्नो संस्थाले आर्थिक सहयोग उपलब्ध गराउने नीति लिएको बताए ।

गुठी संस्थानका सदस्य रामशरण डङ्गोलले देशभर आफ्नो संस्था अन्तर्गत पहाडी जिल्लामा छ लाख रोपनी तथा तराईमा एक लाख बिगाह जमीन रहेको जानकारी दिँदै परापूर्व कालदेखि चलिरहेका सांस्कृतिक महत्वका पर्व तथा धार्मिक कार्यका लागि समय सापेक्ष आर्थिक सहयोग परिमार्जन गरिने बताए ।

आयोजक संस्थाका अध्यक्ष शान्तराज महर्जनले तत्कालीन राजा रणबहादुर शाहले स्थानीय जात्रा पर्व सञ्चालनका लागि स्थापना गरिदिएको उक्त गुठीको आयस्रोत बलियो नभएकाले सांस्कृतिक पर्व तथा जात्रालाई निरन्तरता दिन कठिन भएका कारण गुठी संस्थानको सहयोगको अपेक्षा गरे ।

उक्त गुठीले घोडेजात्राको समयमा भद्रकाली जात्रा र बाला चर्तुदर्शीमा कमलादी गणेशको जात्रा सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा गुठीलाई सहयोग गर्ने विभिन्न दातालाई सम्मान गरिएको थियो ।