समाचार

काठमाडौँमा बन्ने भयो आकास मार्गमा हिँड्ने टावर

काठमाडौँ । नेपालमा पहिलो पटक स्काइ वाक टावर (आकास मार्गमा हिँड्ने टावर) निर्माण गरिने भएको छ । वण्डर नेपाल प्राइभेट लिमिटेड नामक संस्थाले आज यहाँ गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

काठमाडौँको कमलादीमा झण्डै रु दुई करोडको लगानीमा आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र त्यसका लागि १३.२ रोपनी जग्गा भाडामा लिइसकेको सो संस्थाले जनाएको छ ।

दुईवटा अग्ला पहाड वा भवनलाई सिसाको माध्यमबाट जोडने पुललाई स्काइ वाक टावर भनिन्छ । यो पुल सिसाबाट बनाइएको हुन्छ र यसमा मानिस हिँड्डा निक्कै आनन्दको अनुभूति हुन्छ ।

वण्डर नेपाल प्राइभेट अध्यक्ष आकर्षण पोखरेलले चीन, क्यानाडा, अमेरिका जस्ता मुलुकमा रहेको यस्तो स्काइ वाक टावर नेपालमा पहिलो पटक निर्माण गर्ने प्रयास गरेको बताए ।यसबाट पर्यटकको आकर्षण बढ्ने उनको भनाइ छ ।

उनले बितेको तीन वर्षदेखि नेपालको विभिन्न १० ठाउँमा स्काइ वाकको निर्माण तथा सम्भाव्यताबारे अध्ययन तथा अनुसन्धान गर्दै आएको जानकारी दिए ।