पर्यटन/संस्कृति

मन्त्री बस्नेतको सहभागीतामा वाग्मतीमा जलजात्रा

Bagmati

काठमाडौँ । नदी सभ्यता संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले १८ औँ वाग्मती नदी महोत्सव एवं जलजात्रा गरिएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब अफ कुपण्डोलको आयोजनामा भएको जलयात्रामा १८ डुङ्गा सहभागी थिए । कुपण्डोलबाट सुन्दरीघाटसम्मको चार किमी दुरीमा यात्रा गरिएको हो । वाग्मतीको पानी पनि उपत्यका बाहिरका नदीको जस्तै कञ्चन हुनुपर्छ, भन्ने लक्ष्यका साथ कामनाले १८ नदीको पानी वाग्मतीमा हालेको छ ।

मेची, कन्काइ, मस्र्याङ्दी, कर्णाली, महाकाली, ठूली भेरी, कालीगण्डकी, बूढीगण्डकी, सुनकोशी, अरुण, तमोर, बबई, पश्चिम सेती, इन्द्रावती, मार्दी, तिला, मुगु कर्णाली र दूधकोशी गरी १८ नदीको पानी मिसाइएको हो ।

जलजात्राको शुरुवात् गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वाग्मती जस्ता सभ्यताको स्रोतका रुपमा रहेका नदीलाई सफा बनाउन विसं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरिएको जानकारी दिए ।

“नदी स्वच्छ भएपछि पर्यटन प्रवद्र्धनका लागि जलयात्रालगायत आयआर्जनका काम पनि नदीमा गर्न सकिन्छ, पानी बढाएर नदीलाई स्वच्छ बनाउन सरकार दृढ छ, यसमा सबैको सहयोग आवश्यक छ”–उनले भने ।

कार्यक्रममा सांसदद्वय पम्फा भुसाल र तेजुलाल चौधरी, संस्थाका अध्यक्ष मेघ आले लगायतले सभ्यता स्रोत नदी सफाइमा सबैको उत्तिकै साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।

वरिष्ठ पत्रकार भैरव रिसालले भगवान्दास मानन्धर र हुतराम वैद्य जस्ता व्यक्तित्वले शुरु गरेको वाग्मती सफाइमा सरकारले आशा गरे जति काम नगरेको बताए ।

संस्थाले अहिले कुपण्डोलस्थित नदी किनारमा स्थानीयवासीलाई पानीको छेउमाल्याई अपनत्व जगाउने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिरहेको कार्यकारी निर्देशक मौसम खनालले जानकारी दिए । महोत्सव एवं जलजात्रा सन् २००१ देखि शुरु गरिएको हो । वाग्मतीका साथै देशभरका नदी प्राकृतिकरुपमै बग्न पाउनुपर्छ भनी संस्थाले अभियान चलाउँदै आएको जनाइएको छ ।