राजनीति

निर्मला हत्याकाण्डबारे बसेको नेकपाको आकस्मिक बैठकमा के भयो ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिको समेत सुक्ष्म छानबिन गरी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो ।

तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर केही दिनदेखि कञ्चनपुर तनावग्रस्त रहँदै आएको छ । सोही विषयलाई लिएर आज नेकपा सचिवालयको आकस्मिक बैठक बसेको हो ।

बैठकपछि पार्टीका नेता नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षामा खतरा पार्ने घटना भइरहेकाले त्यसप्रकारको घटना हुन नदिन विशेष पहल गर्ने निर्णय भएको जानकारी दिए ।

सामाजिक रुपमा भएका त्यस्ता आपराधिक घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने र पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न समेत बैठकले आग्रह गरेको छ ।

अनुसन्धानलाई व्यापक, विश्वसनिय र प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ । सामाजिक मूल्य मान्यतामा विकृति भित्रिएको, शान्ति सुरक्षामा खलल पार्ने काम भइरहेको सवालमा सबैलाई एकताबद्ध भएर सहकार्य गर्न अपिल गर्ने निर्णयसमेत बैठकले गरेको नेता श्रेष्ठले जानकारी दिए ।

यस्तै जनचेतना तथा जागरण फैलाउन आम रुपमा आग्रह गर्दै बैठकले दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको प्रक्रियामा ल्याउन र सहजीकरण गर्न सबैलाई आग्रह गरिएको छ ।

यस्तै नेकपाका नेता लेखराज भट्टले एक विज्ञप्तिमार्फत स्वतन्त्र उच्च स्तरीय छानबिन समिति गठन गर्न आग्रह गर्नुभएको छ । स्थानीय प्रहरी प्रशासनमाथि आम जनताको विश्वास र भरोसा टुट्ने अवस्था आउन नदिनसमेत उनले आग्रह गरेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको सन्दर्भमा उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कडा कारवाही गर्न नेता भट्टले माग गरेका छन् ।