प्रवास

प्रवासीसँगको सहकार्यमा बन्दैँछ यस्तो पदमार्ग !

म्याग्दी । सदरमुकाम बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु गरिएको छ ।

बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा जिल्ला सदरमुकाम बेनी बजारदेखि बेनपा–२ खबरास्थित लभ्लीहिल जोड्न निर्माण गर्न थालिएको पदमार्गलाई ‘मोना बेनी लभ्लीहिल पदमार्ग’ योजना नामाकरण गरिएको छ ।

रु ५७ लाख आठ हजार २६० लाग्ने अनुमान गरिएको सो पदमार्गको ५१८ मिटर लम्बाइ र १.८ मिटर चौडाइ हुने, दायाँबायाँ दुवैतर्फ रेलिङ राखिने र आगामी छ महिनाभित्र निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिने पदमार्ग निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले बताए ।

नगरपालिका, मोना र सङ्घको क्रमशः ५०, ४० र १० प्रतिशत लगानीमा निर्माण हुनलागेको सो पदमार्ग जन्मथलोको पर्यटन विकासका लागि विभिन्न देशमा रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरिएको मोनाका उपाध्यक्ष ओमनारायण जुक्जालीले बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नमूना योजनाको रूपमा प्रवासी र निजी क्षेत्रसँग त्रिपक्षीय साझेदारी गरेर पदमार्ग निर्माण गर्न लागिएको र यसबाट पर्यटन विकासमा सहयोग मिल्ने बताए ।

बेनीको दक्षिणी मोहोडाको शीरमा रहेको उकालोमा २० मिनेट हिँडेपछि पुगिने लभ्लीहिलमा गत वर्ष बेनी नगरपालिका र पर्यटन कार्यालयको सहयोगमा रेलिङ र गोलघर (प्रतिक्षालय) निर्माण भएको थियो । यस वर्ष नगरपालिकाको रु पाँच लाख अनुदानमा ९० मिटर रेलिङ निर्माण गरिएको छ ।

आरामदायी बेञ्च र गोलघरबाटै म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्तीलाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । गलेश्वरदेखि कालीगण्डकीको मनमोहक दृष्य, धौलागिरिलगायतका मनोरम हिमालको चुचुरो देखिने हरियाली र आकर्षक भू–बनोट अवलोकनका लागि लभ्लीहिल पुग्नेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष हिराबहादुर थापाले बताए ।

मलद्वार नभएकी बालिका उपचारबाट बञ्चित

गरिबीका कारण बेनी नगरपालिका–५ बगुवाखोलाकी मलद्धार नभएकी बीस वर्षीया रुवीना कार्कीकी दुई महिनाकी छोरीको उपचारमा समस्या भएको छ ।

गत असार १६ गते चितवनको एक अस्पतालमा जन्मिएकी बालिकाको मलद्धार नभएको र दिसा, पिसा एकै ठाउँबाट निस्कने समस्या छ । आर्थिक अभावका कारण छोरीको उपचार गराउन नसकिएको रुविनाले बताए ।

छिमेकी भुजु बानियाँका अनुसार सुस्त मनस्थितिकी रुवीना माइतीमा बस्दै आएकी छिन् । माइतीमा बुबाआमा र दाजुभाइको पनि आर्थिक अवस्था कमजोर भएकाले छिमेकीले बनाइदिएको अस्थायी टहरामा कार्की परिवार बस्दै आएका छन् ।

सामान्य सल्यक्रिया गरेर ती बालिकाको उपचार गर्न सकिने र यसका लागि धेरै खर्च समेत नलाग्ने बेनी अस्पतालका डा बिराट शर्माले बताए । शारीरिक वृद्धि विकासका क्रममा आन्द्रामा समस्या आउँदा यस्तो हुने उनको भनाइ थियो ।