गण्डकी प्रदेश

नगरपालिकामा समेत पहिलोपटक ल्याण्डलाइन टेलिफोन

लक्ष्मीप्रसाद सापकोटा / पर्वत । जिल्लाको दोस्रो नगरपालिका फलेवासमा ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न थालिएको छ ।

सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा परेको फलेवासमा नेपाल टेलिकम पर्वत शाखाले पहिलो पटक ल्याण्डलाइन टेलिफोन र इन्टरनेट विस्तार गर्न थालेको हो । अहिलेसम्म सिङ्गो नगरपालिकाका बासिन्दा मोवाइल फोनको भर पर्दै आएका थिए ।

टेलिफोन सेवा नहुँदा एडिएसएल र विभिन्न निजी कम्पनीको इन्टरनेट सेवा प्रयोग हुँदै आएको थियो । स्थानीय व्यवसायीले केही वर्षअघिदेखि ल्याण्डलाइन फोन माग गर्दै आएकामा बल्ल उक्त शाखाले सेवा विस्तारका लागि सबैजसो तयारी पूरा गरिसकेको जनाएको छ ।

अहिले टावर निर्माण तथा तार बिच्छ्याउने काम भइरहेको र असोजभित्रै सेवा शुरु गरिने शाखाका निमित्त कार्यालय प्रमुख केशवप्रसाद भुसालले जानकारी दिए ।

यसअघि नेपाल टेलिकमले कुश्मा, पातीचौर, हुवास र जलजलाका बजार क्षेत्रमा ल्याण्डलाइन सेवा विस्तार गरेकामा महाशिला र विहादी गाउँपालिकामा पनि सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ । पछिल्लो समय एउटै व्यक्तिको हातमा दुईसम्म मोबाइल भए पनि ल्याण्डलाइन नै बढी प्रभावकारी हुने भएकाले स्थानीयबासी, सङ्घसंस्था र नगरपालिकाको समेत मागका आधारमा टेलिफोन विस्तार गर्न थालिएको हो ।

जाँडरक्सी, जुवातास, गाँजा मुक्त वडा बनाइँदै

यहाँको एक विकट वडालाई जाँडरक्सी, जुवातास र गाँजा मुक्त बनाइने भएको छ । सभ्य समाज निर्माण गर्ने उद्देश्यले महाशिला गाउँपालिका– ३ बालाकोटलाई मदिरा र जुवातासमुक्त वडा बनाउन लागिएको हो । आगामी असोज १ गते गाँजा, जाँडरक्सी र जुवातासमुक्त घोषणा गर्ने गरी तयारी भइरहेको वडाध्यक्ष रोशन गुरुङले जानकारी दिए ।

‘गाँजा, रक्सी, जुवातास, गर्छ यसले सर्वनास’ भन्ने मूल नाराका साथ गाउँमा यस्ता पदार्थ बिक्री वितरण तथा उत्पादन र सेवनमा रोक लगाउन अहिले गाउँका सबै टोलमा जनचेतना जगाउने काम भइरहेको छ । प्रत्येक घरधुरीमा पुगेर अवैधरूपमा मदिरा उत्पादन, सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको छ । पहिलो चरणमा सबै नागरिकसम्म जनचेतना फैलाउने र नियन्त्रण भएपछि सो घोषणा गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

सामाजिक विकृति तथा हिंसाका घटना अन्त्य गर्नका लागि स्थानीय प्रहरी चौकी र वडा कार्यालयको संयोजनमा पूर्णरूपमा मादक पदार्थ तथा जुवा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

पुरै बालाकोटबासी सक्रिय भएको यो अभियानमा महाशिला गाउँपालिकाले पनि सहयोग गर्ने भएको छ । समाजमा जनचेतनामूलक कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने गाउँपालिकाकाअध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार “गाउँपालिकाअन्तर्गतका छ वटै वडामा यो अभियान चलाइने छ ।

गुरुङ, मगरलगायतको जनजातिको बाहुल्यता रहेको यो वडामा घरेलु मदिरा उत्पादन तथा सेवनबाट घरेलु हिंसा र अपराधिक क्रियाकलाप बढ्न थालेपछि यस्तो अभियान थालिएको स्थानीयको भनाइ छ । वडाध्यक्षको संयोजकत्वमा अहिले घरदैलो अभियान थालिएको छ । अभियानमा स्थानीयबासीले पनि सहभागिता जनाएका र सबै वडाबासी सकारात्मक देखिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । रासस