अन्तर्राष्ट्रिय

यमनमा क्षेप्यास्त्र आक्रमणमा नागरिक हताहत

दुबई । पश्चिमी यमनमा बिहीबारको क्षेप्यास्त्र प्रहारबाट ठूलो संख्यामा सर्वसाधारण नागरिक हताहत भएका छन् । विद्रोही हुथी समूह र साउदी गठबन्धनले उक्त आक्रमणका बारेमा एकअर्कामाथि दोषारोपण गरेका छन् ।

हुथी विद्रोहीद्वारा सञ्चालित समाचार संस्था साबाले गुडिरहेको बस र घरमा भएको क्षेप्यास्त्र आक्रमणबाट यात्रारत कम्तीमा ३१ जना महिला र बालबालिका मारिएको जनाएको छ । साबाका अनुसार, यमनको दक्षिणस्थित रणनीतिक महत्वको बन्दरगाह सहर होडेडाको अल–दुराएहीमी जिल्लामा उक्त घटना भएको हो ।

साउदी गठबन्धनको मुख्य साझेदार युनाइटेड अरब इमिरेट्सले “इरानमा निर्मित ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको” दाबी गरेको छ । इमिरेट्सको समाचार संस्था डब्लुएएमका अनुसार उक्त क्षेप्यास्त्र आक्रमणबाट एकजना बच्चाको मृत्यु हुनुका साथै दर्जनौं अरु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।

दुवै पक्षले आफ्नो संलग्नता नरहेको दाबी गरेको यस घटनामा भएको हताहतीका बारेमा स्वतन्त्र पुष्टी हुन सकेको छैन । अल–दुराएहीमी क्षेत्र होडेडाबाट करिब २० किलोमिटर दक्षिणमा छ । यहाँ दुई सातादेखि विद्रोही र सरकार समर्थित सेनाबीच लडाइँ जारी छ ।

यसै महिनाको सुरुमा उत्तरी यमनमा भएको क्षेप्यास्त्र आक्रमणबाट ४० जना बालबालिका र ११ जना वयस्क व्यक्ति मारिएपछिको यो सबैभन्दा ठूलो घटना हो । अगष्ट ९ मा भएको यस आक्रमणको अन्तर्राष्ट्रिय जगतबाटै निन्दा र भत्र्सना गरिएको थियो भने साउदी गठबन्धनले उक्त घटनाको छानबिन गर्ने घोषणा गरेको थियो ।

साउदी गठबन्धनमाथि यमनको गृहयुद्धमा ठूलो संख्यामा नागरिकको ज्यान लिएको आरोप लाग्दै आएको छ । गठबन्धनले केही गल्ती भएको स्वीकार गरेपनि हुथी विद्रोहीले मानव ढालको रुपमा सर्वसाधारणलाई प्रयोग गरेका कारण बढी क्षति भएको बताउँदै आएको छ ।

ह्यूमन राइट्स वाच (एचआरडब्लु) ले शुक्रबार प्रकाशन गरेको एक प्रतिवेदनमा गठबन्धनको अनुसन्धान त्रुटीपूर्ण रहेको जनाउँदै विद्रोहीमाथि युद्ध अपराधको आरोप लगाउन सकिने पर्याप्त प्रमाणको कमी रहेको जनाइएको छ ।

“दुई वर्षभन्दा बढी समयदेखि गठबन्धनले आफूहरुले यमनमा गरेका गैरकानुनी हवाई हमलाको बारेमा ठोस अनुसन्धान गरिरहेको दाबी गरेको छ, तर अनुसन्धाताहरुले आफ्ना युद्ध अपराधलाई ढाकछोप गर्नेतर्फ मात्र केन्द्रित गरेका छन्,” एचआरडब्लुका मध्यपूर्व निर्देशक सराह ली ह्वीट्सनले बताए ।

साउदी अरबको अग्रसरताको गठबन्धनले विद्रोहीको आक्रमणबाट जोगिन सन् २०१५ मा निर्वासनमा गएका राष्ट्रपति अबेद्राब्बो मन्सुर हादीको सहयोगका लागि हस्तक्षेप गरेको थियो । उक्त हस्तक्षेप पश्चात् लाल सागरको तटीय क्षेत्र र अधिकांश दक्षिणी भूभाग सहित राजधानी सानालाई पुनः कब्जा गरेपनि अधिकांश उत्तरी भूभाग विद्रोहीको नियन्त्रणमा छ ।

यस द्वन्द्वबाट झण्डै १०,००० मानिस मारिइसकेका छन् । संयुक्तराष्ट्र सङ्घले यमनको गृहयुद्धलाई विश्वकै सर्वाधिक निकृष्ट मानवीय सङ्कटको संज्ञा दिएको छ ।