बाग्मती

मुख्यमन्त्री पौडेल भन्छन्, ‘प्रदेश सरकारले बल्ल गति लिन थाल्यो’

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले जनअपेक्षा अनुसारको कामको गति लिन थालेको बताएका छन् ।

प्रदेश सरकारले सम्पादन गरेका कार्यबारे जानकारी दिन आज मुख्यमन्त्री कार्यालय हेटौँडामा आयोति पत्रकार सम्मेलनमा मुख्यमन्त्री पौडेलले समयअघि सम्म कानूनको अभावका कारण काम गर्न समस्या भए पनि अब नमूना काम गर्दै प्रदेशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश अन्तर्गतका सबै निकायलाई व्यवस्थित बनाउँदै उनले प्रदेश तहमा हालसम्म १४ वटा कानून प्रदेशसभाबाट पास भएको, पाँच वटा विधेयक प्रदेशसभामा दर्ता गरिएको, १२ विधेयकका लागि मन्त्रालयबाट सैद्धान्तिक सहमति तथा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति भएको र पाँच वटा कार्यविधि मन्त्रिपरिषद् स्वीकृत भई कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

प्रदेश परियोजना बैङ्क निर्माण गर्न अध्ययन भइरहेको जानकारी दिँदै प्रदेशसभामा गत आवको चालू बजेट स्वीकृत गराएको र यस आवकोे प्रदेश सरकारको नीति, कार्यक्रम र बजेट पेश गरी पारित भएको बताए ।

सरकारका तर्फबाट देवानी तथा फौज्दारी संहिता ऐन, २०७४ का सम्बन्धी जानकारी तथा छलफल गरिएको बताउँदै मुख्यमन्त्री पौडेलले मन्त्रालयहरुबाट यस आवको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा अघि बढेको जानकारी दिए ।

त्यस्तै प्रदेश सरकारबाट बजेटमा व्यवस्था गरिएको स्थानीय तहका लागि सशर्त अनुदानको पहिलो किस्ता रकम निकासा गरिएको जानकारी दिँदै उनले प्रदेश सरकारका तर्फबाट पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण कार्य नबढेकाले सम्झौता खारेजीमा लैजाने प्रक्रिया शुरु गरेको बताए ।

छरिएर रहेका बस्तीहरुलाई एकीकृत नमूना बस्ती विकासका लागि जग्गा प्राप्तिसम्बन्धी कार्य प्रारम्भ गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।