समाचार

जस्तोसुकै परिस्थितमा पनि न्यायालयले संबिधान अनुसार काम गर्छ : प्रधानन्यायधीश

भक्तपुर । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले जस्तोसुकै अवस्था र परिस्थितिमा पनि न्यायालयले संवैधानिक व्यवस्थाअनुसार नै काम गर्ने बताएका छन् ।

नेपाल बार एशोसिएशन भक्तपुर शाखाको आतिथ्यतामा आजबाट भक्तपुरमा शुरु भएको नेपाल बार एशोसिएशनको ४५औँ कार्यकारिणी परिषद् बैठक एवम् वार्षिक साधारणसभामा उनले भने, “आकाशै खसे पनि न्याय गर्नुपर्छ, जस्तोसुकै परिस्थितिमा पनि संवैधानिक व्यवस्थाअनुसार न्यायालय अगाडि बढ्नुपर्छ ।”

न्यायालयमा सबैले इमान्दार भएर संविधान र कानूनी निष्ठा राखेर काम गर्नुपर्ने धारणा राख्दै उनले नयाँ कानूनी व्यवस्था कार्यान्वयनमा आइसकेको अवस्थामा यसको संस्थागत संरक्षण गरी प्रभावकारी कार्यान्वयन गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

कामु प्रधानन्यायाधीश मिश्रले फौज्दारी तथा देवानी संहितालगायतका ऐनहरुको दस्तावेजको थालनी भइसकेको अवस्थामा यसको संरक्षण र प्रयोग गर्दै संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले नयाँ कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कार्यमा कानून व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले जवाफदेही र उत्तरदायीरुपमा सक्रिय बन्न व्यवसायीलाई आग्रहसमेत गरे ।

कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले नयाँ कानूनी व्यवस्थालाई कानून व्यवसायीले सूक्ष्म अध्ययन गरी त्यसको प्रभावकारी कार्यान्वयनमा भूमिका निर्वाह गर्नुपर्ने औँल्याए । पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसदीय न्याय परिषद्को विषयलाई संसदीय समितिमा ल्याउन नहुने टिप्पणी गरे । कार्यक्रममा महान्यायाधिवक्ता अग्नि खरेलले बारको भूमिका निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले निष्पक्ष अदालतमाथि सरकारको छायाँ पर्न लागेको भन्दै अदालतको सर्वोच्चतालाई कायम राख्न यसको छवि धमिल्याउन नहुने उल्लेख गरे ।

कार्यक्रममा विभिन्न वक्ताले न्यायालय र सरकारबीचको दूरी बढ्दै गएको टिप्पणी गर्दै सरकारले न्यायालयमा हस्तक्षेप गर्ने र न्यायालयले सरकारलाई अटेर गर्ने प्रवृत्तिको थालनी हुन दिन नहुने बताएका थिए ।