राजनीति

छानबिन समितिले काम थाल्यो, परिणाम निर्मलाका पक्षमा हेर्न जनता देखिए आतुर !

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले यहाँ आएर छानबिन थालेको छ ।

आज भीमदत्तनगर आइपुगेको गृहमन्त्रालयको टोलीले बालिका हत्या घटनाबारे प्रारम्भिक चरणको छानबिन थालेको छानबिन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा कञ्चनपुरका पत्रकारलाई प्रतिक्रिया दिँदै छानबिन समितिका संयोजक मैनालीले सरकारले समितिलाई घटनाबारे छानबिनका लागि काम, कर्तव्य र अधिकार दिएर पठाएको जानकारी दिँदै घटनाको यथार्थ बाहिर ल्याएरै छाड्ने बताए ।

छानबिनसँगै सत्यतथ्य पत्ता लगाउँदाको अवधिसम्म भीमदत्तनगरमै रहेर काम गर्ने बताउँदै मैनालीले सरकारले तोकेको जिम्मेवारीअनुसार विभिन्न कोणबाट घटनाबारे छानबिन हुने बताए ।

“यहाँका नागरिक समाज, पत्रकार तथा सुरक्षा निकायसँग घटना अनुसन्धानको कमीकमजोरी र शान्ति सुरक्षाबारे छलफल र समाधान पनि खोज्छौँ ।” उनले भने, “त्यसका लागि यहाँका स्थानीयवासीले शान्तिपूर्ण वातावरण मिलाइदिनु प¥यो ।”

त्यसैगरी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बालिका हत्याबारे विस्तृतमा अनुसन्धान एवं छानबिन हुने बताए । उनले शान्ति सुरक्षाको वातावरण सहज भएपछि अनुसन्धान गर्न छानबिन समितिलाई सहज हुने बताए ।

समितिलाई बालिका पन्त हत्यासम्बन्धी विस्तृत छानबिन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्ने र घटनालाई लिएर भएका विरोध प्रर्दशनमा भएको क्षति तथा स्थानीय प्रशासनले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गरी कमीकमजोरी पहिचान गर्ने र सुधारका उपायसमेत सिफारिश गर्ने जिम्मेवारी दिइएको छ ।

मत्थर हुँदै आन्दोलन

कञ्चनपुरमा बालिका पन्तको हत्यापछि भएको आन्दोलन आजबाट मत्थर हुँदै गएको छ । आन्दोलनरत पक्षले माग गरेअनुसार गृहमन्त्रालयले यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरुवा गरेपछि आन्दोलन कम भएको हो । यद्यपि बजार, यातायात तथा शैक्षिक सङ्घ÷संस्था अझै पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् ।

त्यसैगरी आन्दोलनरत पक्षले आज पनि केहीबेर अघिदेखि बजार र पूर्व–पश्चिम राजमार्गका केही स्थानमा प्रदर्शन थालेको छ । स्थानीय प्रशासनमा नयाँ नेतृत्व आएपछि आन्दोलनरत पक्ष र स्थानीयवासी घटनाको यथार्थ बाहिर आउनेमा आशावादी देखिएका छन् ।

छानबिन समिति र जिल्लाको नयाँ नेतृत्वलाई निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाउन विभिन्न निकाय र क्षेत्रबाट पहल समेत भइरहेको छ ।

त्यसैगरी बालिका हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट भीमदत्तनगर आइपुगेको उच्चस्तरीय छानबिन समितिलाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले विज्ञप्ति जारी गर्दै स्वागत गरेको छ ।

भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले आज प्रेस विज्ञप्ति जारी गरी छानबिन प्रक्रियामा सहयोग पु¥याउन नगरवासी र आन्दोलनरत पक्षसँग आग्रह गरेका छन् ।