सुदूरपश्चिम

डेढसय घर जोखिममा

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा यो वर्ष पनि पहिरोले क्षति गर्न थालेको छ ।

विसं २०१८ बाट खस्न शुरु गरेको सो पहिरोले वर्षेनी क्षति गर्दै आएको स्थानीय रामदत्त जोशीले बताए । डोल पहिरोका कारण अहिलेसम्म नौको मृत्यु भइसकेको छ । सयौँ रोपनी खेतीयोग्य जमीन बगाएको छ । पहिरोले १५० घर जोखिममा परेका छन् । पहिरोले बस्तीका पुरै घर बाङ्गा भइसकेको स्थानीय लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । भित्र कमेरोयुक्त माटो भएका कारण जमीन भासिँदै गएको र त्यसले घर बाङ्गा हुँदै गएका छन् । उनले भने, “पहिरोले पुरै गाउँ विस्थापित हुने अवस्थामा छ, लगातारको वर्षाले गाउँ नै पहिरोको जोखिममा छ ।” बस्ती तलतिरबाट जमीन भासिएपछि जोखिम बढेको हो ।

तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुमप्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीय बासिन्दा वीरसिंह भण्डारीले बताए । पहिरोले प्रत्येक वर्ष खानेपानी, पानीघट्ट लगायतका संरचना बगाएको छ । उनले भने, “अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी छ ।”

लगातारको वर्षाले स्थानीय बासिन्दा लोगसिंह भाटको घर तलतिर पहिरो खसेकाले घर नै जोखिममा परेको स्थानीय रामदत्त जोशीले बताए । घरको तलतिर पहिराले सबै आँगन बगाएपछि अहिले भाट परिवारलाई समस्या भएको छ । आर्थिक अवस्था राम्रा भएकाले बसाइँसराइ गरिसकेका छन् भने कमजोर भएका जोखिममा बस्न बाध्य भएका स्थानीय नैनसिंह गोयलाले जानकारी दिए । सो ठाउँका १५ बढी परिवारले बसाइँसराइसमेत गरिसकेका छन् ।