स्वास्थ्य

फोहर व्यवस्थापन गर्न सहकार्य आवश्यक

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन ठूलो चुनौतीका रुपमा रहेकाले व्यवस्थापनका लागि सम्बन्धित निकाय सहकार्यको साथ लाग्नुपर्ने सरोकारवालाले बताएका छन् । उपत्यकामा बाहिरबाट ल्याइने तरकारी र मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन नगरेसम्म उपत्यकाको फोहर व्यवस्थापनको काम अत्यन्तै चुनौतीपूर्ण वक्ताले बताएका हुन् ।

वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्योति ल फर्मले आयोजना गरेको वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले काठमाडौँ उपत्यका आफैँ फोहर नभएको भन्दै उपत्यका बाहिरबाट आयात गरिने खाद्यानको सामग्री नै फोहरको मुख्य कारण रहेको बताए । उनले भने, “बाहिरको फोहर बाहिर नै जिल्लामा व्यवस्थापनको शुरुआत गर्नुपर्छ, काठमाडौँमा फोहर व्यवस्थापन गर्ने स्थान छैन । त्यस विषयमा सम्बन्ध भएका सबै निकायले सोच्न आवश्यकता भइसकेको छ ।”

मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालले नेपाल वातावरणीय व्यवस्थापनको हिसाबले विश्वकै तल्लोस्तरको मुलुकमा पर्ने भन्दै यसलाई सुधार गर्नका लागि नीति निर्माता र नीति कार्यान्वयन गर्ने पक्षको सहकार्यको आवश्यकता औँल्याए। अधिवक्ता पदमबहादुर श्रेष्ठले वातावरण व्यवस्थापनसम्बन्धी कानून कार्यान्वयनका लागि मन्त्रालय र विभागबीच समन्वय नहुँदा समस्या भएको भन्दै आगामी दिनमा समन्वयात्मक भूमिका निर्वाह गर्न दुवै निकायलाई आग्रह गरे ।

उपत्यकाबाट दैनिक एक हजार २०० र काठमाडौँ महानगरपालिकाबाट दैनिक ५०० मेट्रिक टन फोहर निस्कन्छ । तीमध्ये ६० प्रतिशत कुहिने फोहर रहेको छ । विभागका करीब २५ कर्मचारीलाई तालीम दिइएको हो । केही समयअघि ने काठमाडौँ महानगरपालिकाले मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन गर्ने र खानयोग्य मात्रै आयात गर्ने भने पनि हालसम्म पनि उक्त विषय अभ्यासमा आउन सकेको छैन ।