प्रदेश 2

नगरपालिकाद्वारा निःशुल्क सिफारिस

लहान । देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० विलम्ब शुल्क लाग्ने नगर प्रमुख देवनाथ साहले जानकारी दिए । जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइ, सम्बन्धविच्छेद, निःशुल्क स्वास्थ्योपचार, स्वास्थ्य उपचारमा सहुलियत, छात्रवृत्ति, अति गरीब र दुईजना व्यक्ति एउटै भएकोलगायतका सिफारिस निःशुल्क गरिएको नगरप्रमुख साहले बताए ।

नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम आपाङ्गता भएका नागरिकको सिफारिसमा ५० प्रतिशत छुट दिने तथा अति गरीब डुम र मुसहर समुदायलाई नगरपालिकाबाट दिइने सिफारिसमा पूर्ण निःशुल्क गरिएको नगर प्रमुख साहको कथन छ ।

अधिकांश स्थानीय तहले सिफारिस र व्यक्तिगत घटना दर्तामा शुल्क बढाइरहँदा गोलबजार नगरपालिकाले विभिन्न सिफारिस र व्यक्तिगत घटना दत्र्ता निःशुल्क गरेपछि स्थानीयवासी खुशी भएका छन् । देशभरिका स्थानीय तहले कर बढाइरहेको भन्ने तीव्र असन्तुष्टि आएको बेला गोलबजार नगरपालिकाले नागरिकसँग प्रत्यक्ष सरोकार रहने सिफारिस निःशुल्क गरेपछि स्थानीयवासी खुशी देखिन्छन् ।

स्वास्थ्य शिविरमा ५०० बढीको जाँच

सिरहाको कर्जन्हा नगरपालिका–११ बगहामा सम्पन्न क्यान्सर रोग सम्बन्धी स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये ८६ जना महिला पाठेघरका क्यान्सर रोगी फेला परेका छन् ।

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलको आयोजनामा सम्पन्ने स्वास्थ्य शिविरमा जाँच गराएकामध्ये ८६ जना महिलामा पाठेघरको क्यान्सर भेटिएको शिविरका टोली प्रमुख डा निर्मलकुमार लामिछानेले जानकारी दिए ।

शिविरमा चेकजाँच गरिएका महिलामध्ये आठ जनाको पाठेघर पूर्ण रुपले खसेको र छ जनाको पाठेघरभित्र मासु पलाएको पाइएकाले तत्काल पायक पर्ने अस्पतालमा उपचारका लागि सिफारिस गरिएको डा लामिछानेले बताए ।

यसैबीच सिरहाको कर्जन्हा नगरपालिका– ११ स्थित बगाहामा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको शाखा स्थापना गर्ने तयारी शुरु स्थानीय समाजसेवी रेणु यादवले जानकारी दिए।