गण्डकी प्रदेश

पत्रकार रुपनारायण पुरस्कृत

पोखरा । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ‘दि हिमालयन टाइम्स’ का पत्रकार रुपनारायण ढकाल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासङ्घ, कास्कीद्वारा सञ्चालित सो पुरस्कार पोखरामा आज आयोजित कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार ढकाललाई प्रदान गरे । पुरस्कारको राशि रु २५ हजार एक रुपैयाँ, दोसल्ला र सम्मानपत्र छ ।

महासंघका अध्यक्ष आचार्यले पत्रकारिता क्षेत्र नागरिकका आवाजलाई समाजमा लैजाने महत्वपूर्ण माध्यम भएको बताए। मुलुकी संहिता २०७४ का धेरै प्रावधान पत्रकारलाई अङ्कुश लगाउने किसिमका भएको बताउँदै उनले समाचार लेखेकै आधारमा पत्रकारलाई मुद्दा लगाउन थालिए त्यसका विरुद्धमा आन्दोलन थालिनेछ भने । पुरस्कार छनोट समितिका संयोजक कृष्णप्रसाद बाँस्तोलाले खोजी समाचारमा क्रियाशील रहेर पत्रकारिताको विकासमा योगदान गर्नुभएका कारण ढकाललाई छनोट गरिएको हो भने ।

महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य मीना गुरुङ, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रदेश समिति अध्यक्ष त्रिभुवन पौडेललगायतले समाजलाई सुसूचित गर्ने पत्रकारिता क्षेत्रलाई कसैले बाँध्न नसक्ने र बाँधिन पनि नहुने धारणा राखे।