लुम्बिनी

खोला पार गर्दैगर्दा बाढी आएपछि…

बाँके । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने क्रममा बाढी आएर बगाएको थियो ।

सबै यात्रु छिटो–छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा अड्किएपछि खोलाले बगाउन भने सकेन । तत्कालै डोजरको सहायताले खोलामा फसेको गाडी निकालिएको थियो ।

उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु–जाजरकोट सडक खण्डको उक्त खोलामा दैनिक आवतजावतमा समस्या हुने गरेको यातायात व्यवसायी नन्द पुनले दुखेसो गरे ।

सो सडक खण्डमा आवतजावत गर्ने सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका नागरिकलाई प्रत्यक्ष असर गरेको अर्का स्थानीय मानसिंह धामीले बतारे । खोला पार गर्दैगर्दा गाडीको इन्जिनमा पानी पसेर इन्जिन नै बन्द हुने गरेको छ । खोला बढेपछि यातायातका साधन गन्तव्यमा नपुग्दा सयौँ यात्रु बाटोमै अलपत्र पर्ने गरेका छन् ।