स्वास्थ्य

बालकद्वारा जीवनरक्षाको अपिल

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । आफ्ना दुवै मिर्गौलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका हुन् ।

बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको स–सानो सहयोगले पनि आफ्नो जीवनरक्षाका लागि ठूलो योगदान हुने बताए ।

उनले भने “बुबा अपाङ्ग हुनुहुन्छ, घरको आर्थिक अवस्था नाजुक छ, उपचार गराउन फुपूले भारतको लखनउ लग्नुभयो त्यहाँका चिकित्सकले रु तीन लाख लाग्छ भनेकाले आफू फर्केर आएको हूँ ।” पत्रकार सम्मेलनमा बालक अधिकारीकी फुपू खीमा भण्डारीले पनि आर्थिक अभबकै कारण उपचारका लागि सहयोग गरिदिन सबैमा आग्रह गरे।

वृद्धाश्रममा भौतिक पूर्वाधार निर्माण
तुलसीपुर उपमहानगरपालिका–१२ रझेनामा रहेको केशवराज झुपाकुमारी वृद्धाआश्रमलाई सुरक्षित तथा व्यवस्थित गर्न मूलढोका राख्नुका साथै पर्खालसमेत निर्माण गरिएको छ ।
वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारीका अनुसार १०५ मिटर लम्बाइ र सात फिट अग्लो पर्खाल निर्माणका लागि रु सात लाख र मूल ढोकाका लागि रु तीन लाख गरी जम्मा रु १० लाख खर्च भएको छ ।
वृद्धाआश्रमको पूर्वाधार निर्माणका लागि उक्त समाजले गत फागुन २० देखि ३० गतेसम्म महापुराण लगाएर बचत भएको रु २१ लाखबाट अहिले रु १० लाख ती संरचना निर्माणमा खर्च गरिएको र बाँकी रु ११ लाख बचत रहेको बताए ।
वृद्धाआश्रमका लागि सभाहल आवश्यक भएकाले बचत रकमका साथै पुनः दाताको खोजी गरी निर्माण गरिने उनले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका–१२ निवासी समाजसेवी नारायण गौतम र उनकी धर्मपत्नी शान्ता गौतमले आफ्ना स्वर्गीय बुवा केशवराज गौतम तथा आमा झुपाकुमारी गौतमको स्मृतिमा वृद्धाआश्रम निर्माणका लागि चार वर्ष पहिले दुई बिघा जग्गा दान गरेका थिए ।