समाचार

कञ्चनपुर घटनालाई राजनीतिकरण नगरी दोषीलाई कडा कारबाही गर्न काँग्रेस नेता बडुको माग

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं पूर्ब संचारमन्त्री दिलेन्द्र प्रसाद बडुले कञ्चनपुरमा भएको १३ बर्षिया निर्मला पन्तको घटनामा भएको प्रहरी हस्तक्षेपमा चासो ब्यक्त गरेका छन् ।

सुदुरपश्चिम क्षेत्रमा काँग्रेसका हस्ती नेताका रुपमा चिनिने काँग्रेस केन्द्रीय नेता बडुले घटनालाई राजनीतिकरण नगरी सत्यतथ्य लयाएर दोषीलाई कारबाही गर्न आग्रह समेत गरेका छन् ।

नेता बडु अनुभबी र मध्यमार्गी नेताका रुपमा काँग्रेसबृतमा चिनिन्छन् ।  उनले भर्खरैमात्र आफुनो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘१३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटना अत्यन्त पाशविक र संवेदनशील घटना हो । यसै घटनालाई लिएर हिजो भाद्र ७ गते कंचनपुरमा प्रहरीको गोलीबाट ४ जना घाइते भएका छन भने दोहोरो झडपमा ८ जना प्रदर्शनकारी तथा ३ जना प्रहरी समेत घाइते भएका छन् । जुन अत्यन्तै दुखद छ । यसरी शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमनको घोर भर्त्सना गर्दछु । घाइतेहरुको शिघ्र स्वस्थ्य लाभको कामना गर्दै सरकारले तत्काल उहाँहरुको उपचारको व्यवस्था गरोस भन्ने माग गर्दछु ।
यस हत्या काण्डको अनुसन्धान कार्यमा कुनै पक्षबाट राजनीतिकरण नहोस् र बस्तुगत आधारमा सत्यतथ्य पत्ता लगाई दोषी माथि कडा भन्दा कडा कार्यवाही होस् भनि पुनः जोडदार माग गर्दछु ।’