प्रदेश 1

विर्तामोड नगरपालिकामा धुमधाम दीपावली

विर्तामोड । झापाको आठौं स्थानीय तह र चौथो नगरपालिकाको रुपमा खुल्ला दिसामुक्त घोषणाको तयारी गरिएको विर्तामोड नगरपालिकामा घोषणा पूर्वसन्ध्यामा दीपावली गरिएको छ । नगरपालिकालाई यही भदौ ८ गते विहान ११ बजे अग्रसेन भवनमा खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रम नगरपालिकाले तय गरेको छ ।
विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले दीपावलीको थालनी गरे । नगरपालिकाका उपप्रमुख, वडाअध्यक्षहरु, खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने निकायका प्रतिनिधिहरु, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको सो कार्यक्रममा नगर प्रमुख सिवाकोटीले खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । शुक्रबार हुने घोषणा समारोहमा उपस्थित हुन सबैलाई आमन्त्रण गर्दै नगर प्रमुख सिवाकोटीले नगरपालिका अब पूर्ण सरसफाइको यात्रामा अघि बढ्ने बताए ।
आधाररेखा सर्वेक्षण अनुसार १७ हजार ८ सय ९४ घरधुरी रहेको विर्तामोड नगरपालिकामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा वडा नं. १ देखि ६ सम्म (साविक विर्तामोडमा) मानव विकास केन्द्र र वडा नं. ७ देखि १० सम्म (साविक गरामनी) सहारा नेपालले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरिएको हो ।
साविक विर्तामोडमा १ हजार १ सय ६५ घरधुरीमा नयाँ सुरक्षित शौचालय निर्माण गर्नुका साथै साविक गरामनीमा १ हजार ७ सय ११ नयाँ घरायसी शौचालय निर्माण भएका थिए ।
अभियानको पहिलो चरणमा चर्पी निर्माणमा कुनै आर्थिक सहयोग नगरे पनि वडाहरुले विपन्नहरुलाई वर्गीकरण गरेर उनीहरुको अवस्था अनुसार पछिल्लो चरणमा निर्माण सामग्री सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
विर्तामोड नगरपालिकाका ९ वटा वडाहरु यसअघि नै खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् भने बाँकी रहेको वडा नं. ७ सहित सिंगै नगरपालिका एकसाथ खुल्ला दिसामुक्त घोषणा हुन लागेको हो ।
१५ स्थानीय तह रहेको झापामा बुद्धशान्ति, कमल, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा कनकाई, शिवसताक्षी र अर्जुनधारा नगगरपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् । झापा गाउँपालिका र गौरादह नगरपालिकाका सबै घरधुरीमा चर्पी निर्माण भै अन्तिम गुणस्तर अनुगमनका लागि अनुरोध भैसककेो र दमक नगरपालिका, कचनकवल गाउँपालिका तथा मेचीनगर नगरपालिका अभियानको अन्तिम चरणमा पुगेका छन् । सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकामा सबैभन्दा बढी चर्पी बनाउन बाँकी छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार भद्रपुरमा ४ सय ६३ चर्पी बनाउन बाँकी रहेको छ भने झापा जिल्लाभरमा ७ सय ५७ घरधुरीमा चर्पी निर्माण गर्न बाँकी छ ।