राजनीति

हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग

काठमाडौँ । नेपाली काङ्ग्रेसले ओखलढुङ्गा मोलुङ गाउँपालिका–३, हर्कपुर निवासी नेपाल विद्यार्थी सङ्घका सक्रिय सदस्य सन्तोष कार्कीका हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

आफ्नै निवासमा कार्कीलाई यही भदौ ५ गते अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी विभत्स र निर्मम तवरले हत्या गरेको काङ्ग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

काङ्ग्रेसले उक्त घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीले कार्कीको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।