बाग्मती

व्यक्तिगत घटना दर्ता र सिफारिश निःशुल्क

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालीकाले दिने सिफारिश तथा व्यक्तिगत घटना दर्ता निःशुल्क बनाएको छ । दुधौली नगरपालिका कार्यालय र वडा कार्यालयबाट दिइने सिफारिश तथा व्यक्तिगत घटना दर्ता शुल्क निःशुल्क बनाइएको हो । सो नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० शुल्क लाग्ने प्रमुख घनश्याम राउतले बताए । अब स्वास्थ्योपचार, दैविक प्रकोप, आर्थिक अवस्था कमजोर भएको, छात्रवृत्ति, विपन्नता आदि सिफारिश, भूकम्प प्रभावित लाभग्राहीलाई नक्सापास दस्तुर, शहरी स्वास्थ्य सेवा सञ्चालन अनुमति, योजनाको सम्झौता र विद्यालयको बैंक खाता सञ्चालन सिफारिश निःशुल्क हुने छ ।

विद्यालयमा कर्मचारी र शिक्षक पदपूर्तिको अनुमति तथा विद्यालयको नामाकरण, अनाधिकृत निर्माण रोक्ने, सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्ने, झगडीयाबीचको मध्यस्थता, मेलमिलाप, ज्येष्ठ नागरिक, अपाङ्ग परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता पाउन लाभग्राहीको नाम समावेश गर्ने, संरक्षक प्रमाणित गर्ने संस्थागत तथा व्यक्तिगत संरक्षक सिफारिश अब निःशुल्क पाउने प्रमुख राउतले बताए ।

आफूहरुले पहिलादेखि नै सिफारिश र दर्ता शुल्क नलिएकाले अहिले अन्य ठाउँका स्थानीय तहले सिफारिश र व्यक्तिगत घटना दर्तामा शुल्क बढाएकाले आफूहरुले पहिलादेखि नै कायम रहेको निर्णयलाई सार्वजनिक गरेको उनले बताए । नागरिकता सिफारिशका लागि दुधौली नगरपालिकाले प्रतिव्यक्ति रु ३०० लिने गरेको थियो । तर हालै भएको नगरसभाबाट प्रतिव्यक्ति रु २०० लिने निर्णय गरिएकोमा यसमा फेरि बैठक बसी निःशुल्क वा अझ कम शुल्क लिने भनी निर्णय गर्ने उनको भनाई छ ।

जनतामा जताततै कर बढाएको भन्ने तीव्र असन्तुष्टि आएको बेला दुधौली नगरपालिकाले नागरिकसँग प्रत्यक्ष सरोकार रहने सिफारिश निःशुल्क बनाउनु राम्रो भएको स्थानीयले बताएका छन् । सिन्धुलीका अरु स्थानीय तहले सो निर्णयलाई स्वागत र सिको गर्नुपर्ने नवराज दाहालले बताए । जिल्लाका अन्य स्थानीय तहले भने सामान्य प्रकृतिको सिफारिशमा समेत शुल्क लिने गरेका छन् ।