बाग्मती

मजदूरहरुको लागि आयो खुसीको खबर

नुवाकोट । विभिन्न क्षेत्रमा काम गर्ने मजदूरको ज्यालामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयको जिल्ला दररेट निर्धारण समितिले निर्माण क्षेत्रमा संलग्न दक्ष, अर्धदक्ष र अदक्ष कामदारको दैनिक ज्यालादर चालू आर्थिक वर्षको लागि वृद्धि गरेको हो ।
श्रमिक सङ्गठन, निर्माण व्यवसायी र विकास निर्माणमा संलग्न सरकारी निकायसँगको परामर्श, नेपाल राष्ट्र बैंकले जारी गरेको ज्यालादर सूचकाङ्क, हालको बजारमूल्य र श्रमिकको उपलब्धतालाई आधार मानेर ज्यालादर वृद्धि गरिएको प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए।

समितिले मजदूरको ज्याला वृद्धिको साथै ढुवानी दररेट र वस्तुको मूल्यमा समेत वृद्धि गरेको छ । दक्ष कामदारको रु एक हजार १३० तथा विस्फोटक पदार्थ ढुवानी गर्ने, ज्यामी, डकर्मी, सिकर्मी र कम्प्युटर अपरेटरको रु ८९० कायम गरेको छ । अर्धदक्ष कामदारको रु ६९० र अदक्ष कामदारको दैनिक ज्याला रु ५२० देखि कामको प्रकृति हेरि रु ६३० सम्म कायम गरेको छ । समितिले गत आवको तुलनामा चारदेखि पाँच प्रतिशतसम्म ज्यादादर वृद्धि गरेको हो ।

समितिले इँटाको मूल्य र सामग्री ढुवानीको दरसमेत वृद्धि गरेको छ । मेशिनबाट उत्पादित प्रतिहजारको इँँटा रु २१ हजार ८०३ र स्थानीय चिम्नी भट्टाको १ नम्बर इँटा प्रतिहजारको रु १३ हजार २०० कायम गरेको छ । गत आवमा मेशिनबाट उत्पादित इँटाको मूल्य एक हजारको रु २० हजार ७६५ र स्थानीय चिम्नी भट्टाको रु १२ हजार २०० रहेको थियो । माटो, गिट्टी, सिमेन्ट र बालुवाजस्ता सजिलो सामान ढुवानीका लागि प्रतिकिलोमिटर प्रतिक्विन्टल रु ७८ तथा जस्ता, छड, जिआइ पाइप, ट्रस, ऐनाजस्ता टुटफुट हुने सामग्रीको रु ९३ दररेट निर्धारण गरिएको छ ।