समाचार

आजको प्रतिनिधीसभा बैठकः राजधानीका सडकको दुर्दशादेखि निर्मालाको हत्या काण्डसम्म

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले निर्वाचन क्षेत्र, जिल्ला र समग्र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरे ।

बैठकमा सांसद विमला नेपालीले काठमाडौँ उपत्यकाका सडक समयमै मर्मत गर्न नसक्दा राजधानीवासीले ठूलो सास्ती व्यहोर्नु परेको धारणा व्यक्त गरे । सांसद भीमसेनदास प्रधानले महँगी र करका कारण नेपाली जनता मारमा परेकाले जनतालाई राहत दिने हो भने कम्तीमा पनि जन्म र मृत्यु दर्ता निःशुल्क गर्ने व्यवस्था गर्न सुझाव दिए।

सांसद भूपेन्द्र थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लामा समावेश गर्न माग गरे । सांसद महेश बस्नेतले भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इञ्जिनियरिङ कलेजमा भएको घोटालाको छानबिन गरी उक्त कलेज अब स्थानीय निकायले सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गरे ।

सांसद महेश्वरराज गहतराजले स्थानीय तहले गरेको करसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न आवश्यक रहेको छ भने । सांसद मायादेवी न्यौपानेले काठमाडौँ उपत्यकामा रहेका छाडा भुस्याहा कुकुरलाई नियन्त्रण गर्ने कार्य अविलम्ब शुरु होस् भने ।

सांसद मीनबहादुर विश्वकर्माले कञ्चनपुरमा केही दिनअघि भएको बलात्कारको घटनामा संलग्न दोषीलाई नियन्त्रण गरी कानूनी दायरामा ल्याउन सुझाव दिए । सांसद मीना सुब्बाले धरान नगर हेर्दा जति सुन्दर छ, त्यति नै विमानस्थल र सडक समस्या रहेको जनाउँदै सडक, बसपार्क र विमानस्थलको आवश्यक व्यवस्था गर्न माग गरे ।

सांसद डा. मीनेन्द्र रिजालले सरकारलाई जनताप्रति उत्तरदायी हुने व्यवस्था मिलाउन सदनको ध्यानाकर्षण गरे । सांसद मीना पाण्डेले मुलुकका विभिन्न ठाउँमा भएका बलात्कारका घटनामा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याउन माग गरे ।

सांसद मैनाकुमारी भण्डारीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कानूनी दायरामा ल्याएर कारवाही चलाउन सुझाव दिए । सांसद यज्ञराज सुनुवारले मुलुकमा शान्ति र समृद्धि देख्न नचाहनेले हत्या हिंसाका घटना मच्चाएको हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद यशोदा सुवेदी गुरुङले भूूउपयोगसम्बन्धी नीति ल्याएर जग्गाको खण्डीकरण र भूक्षयीकरण रोक्न आवश्यक छ भने । सांसद रणमती शाहीले कञ्चनपुरमा बलात्कारीलाई पक्राउ गरेको विरोधको कार्यक्रममा भएको प्रहरी हस्तक्षेपको विरोध गरे ।

सांसद राजन केसीले सांसद निरुपालमाथि भएको घटनाको छानबिनको अवस्था कहाँ पुग्यो, ३३ किलो सुन कहाँ गयो भने । सांसद राजेन्द्रकुमार राईले छिनताङ घटनाका शहीदका परिवारलाई राहत उपलब्ध गराउन माग गरे । सांसद राधाकुमारी ज्ञवालीले सरकार र राजनीतिक दललाई संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न आवश्यक रहेको धारणा राखे ।

सांसद रामबहादुर विष्टले संसद्मा उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै सांसद निरुदेवी पालमाथि भएको घटनाको छानबिन कहाँ पुग्यो भने ।
सांसद रामेश्वर रायले सर्लाही जिल्लालगायतका उखु किसानको चिनी मिलले भुक्तानी गर्न रु नौ अर्ब बाँकी रहेकाले उक्त बक्यौताको तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन विशेष पहल गर्न माग गरे।
सांसद लक्ष्मीकुमारी चौधरीले बर्खायाममा नदीबाट बालुटा, गिट्टी निकाल्न नपाइने भनिए पनि अहिले मुलुकमा विभिन्न खोलाबाट ती वस्तु निकाल्ने काम भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गरे ।