पर्यटन/संस्कृति

चिनियाँ चित्रकला प्रदर्शनी शुरु

काठमाडौँ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध बढाउनका लागि चिनियाँ चित्रकला प्रदर्शनी आजदेखि नेपाल कला परिषद्, बबर महलमा शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उद्घाटन गर्दै चित्रकलाबाट चिनियाँ जनताको जनजीविका र प्रकृतिबारे जानकारी लिन सकिने बताए ।

कार्यक्रममा चाइना थ्री ग्रजेज विश्वविद्यालय, कला संस्थानका डिन थियान जिकावोले चीनको एक क्षेत्र एक मार्ग (वन वेल्ट वान रोड) को अवधारणाअनुसार आफूहरु चित्रकला प्रदर्शनी गर्न आएको बताए ।

प्रदर्शनीमा थ्री ग्रजेज विश्वविद्यालयका तीन जना प्राध्यापक झोउ चुआन्फा, वेई मिङ्गुओ र सिचाङ शिपिङको चित्रकला राखिएको छ ।

प्रा डा. कृष्णप्रसाद अधिकारीले प्रदर्शनीले नेपाल र चीनबीच चित्रकला आदानप्रदान गर्न सहयोग हुने बताए । चीनको थ्री ग्रजेज विश्वविद्यालय, नेपाल ललितकला मञ्च र नेपाल ललितकला पत्रकार समाज (सोफाज) को संयुक्त आयोजनामा भएको चित्रकला प्रदर्शनीमा चिनियाँको जीवनशैली र प्राकृतिक वातावरणबारे ३० चित्र राखिएका छन् । प्रदर्शनीमा तीन प्राध्यापकले चिनियाँ प्रविधिमा चित्रकला बनाउनसमेत सिकाउनेछन् ।