स्वास्थ्य

‘रगतको खोजीमा हुनुहुन्छ ! चिन्ता नगर्नुस्’ एक कल फोनमै यसरी पाईन्छ जुनसुकै ग्रुपको रगत

तुलसीपुर । के तपाईं रगतको खोजीमा हुनुहुन्छ आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग्रुपको रगत सहजै प्राप्त गर्न सकिन्छ ।

तुलसीपुर नगर जेसिजले अनकल रगतको आपूर्तिको व्यवस्था मिलाएको छ । रगतको अभावका कारण कोही पनि बिरामी र बिरामीका आफन्तलाई समस्या नपरोस् भन्ने उद्देश्यले तुलसीपुर नगर जेसिजले अनकल रगत आपूर्तिको व्यवस्था मिलाएको तुलसीपुर नगर जेसिजका अध्यक्ष दीपेश भण्डारीले बताए ।

जेसिजले आफ्ना सदस्यहरुको ब्लड ग्रुप क्याम्प गरी कुन सदस्यको कस्तो ग्रुपको ब्लड छ सो ग्रुप वर्गीकरण गरी तालिका निर्माण गरेर अञ्चल अस्पताल तुलसीपुर र रक्तसञ्चार केन्द्रमा उपलब्ध गराएको छ । तालिकामा दुर्लभ रगतदेखि सबै किसिमका ब्लड ग्रुप भएका सदस्यहरुको नाम र सम्पर्क नम्बरसमेत उपलब्ध गराएको जेसिजले जनाएको छ ।

सोही अनुसार आवश्यक परेको बेला फोन गरी सदस्यहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाएको अध्यक्ष भण्डारीले बताए । जेसिजले २४सौँ घण्टा जति बेला पनि बिरामीलाई आवश्यक परेको समयमा आवश्यक रगत उपलब्ध गराउने व्यवस्था मिलाएको बताएको छ । ९१ जना सदस्यको ब्लड ग्रुप, नाम, फोन नम्बरसहित अनकल ब्लडको व्यवस्था गरेको जेसिजका महासचिव नेत्रलाल भट्टराईले जानकारी दिए।