स्वास्थ्य

स्वास्थ्यचौकी भवन निर्माण

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ । स्थानीय दुई परिवारका सदस्यले आफ्ना स्व बुबाआमाको स्मृतिमा जग्गा खरीद गरी भवन निर्माण गरिदिएका हुन् ।

स्वास्थ्यचौकीका लागि ११ कोठे भवन निर्माण भएपछि अब २४ घण्टे प्रसूति सेवासमेत शुरु भएको छ । भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर, इन्द्रबहादुर, गणेशबहादुर, हृदयमान र प्रेमबहादुर सम्बाहाम्फेले आफ्ना स्व बुबा टङ्कबहादुर र आमा मनमायाको स्मृतिमा पाँच रोपनी जग्गा आठ कोठा निर्माणका लागि रु ३९ लाख सहयोग गरे ।

यस्तै खेलप्रसाद लिम्बूले आफ्ना बुबा मनबहादुर र आमा निमाको स्मृतिमा एक रोपनी जग्गा र तीन कोठे भवन निर्माणका लागि रु १५ लाख सहयोग गरेका छन् । भवन निर्माणपछि स्वास्थ्यचौकीको सेवा प्रवाहमा सहज भएको छ । नवनिर्मित भवनको बुधबार म्याङलुङ नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गरे । कार्यक्रममा नगर प्रमुख तुम्बाहाम्फेले नगर क्षेत्रको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सहयोग गर्ने समाजसेवी दम्पतिलाई धन्यवाद प्रकट गरे ।