समाचार

गृहमन्त्रीसँग साइगोको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले आज शिष्टाचार भेट गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । सो अवसरमा गृहमन्त्री थापाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि जापानले सुरक्षा निकायलगायत अन्य क्षेत्रमा सहयोगप्रति राजदूत साइगोमार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गरे ।

उनले नेपालको पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि लगायतको क्षेत्रमा जापानको सहयोग र लगानीका लागिसमेत राजदूतसँग आग्रह गरे । गृहमन्त्री थापाले केही समयअघि जापानमा आएको बाढीका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरे ।

राजदूत साइगोले आफू गत जुन महीनामा मात्रै नेपालको राजदूतका रुपमा कार्यभार सम्हालेको गृहमन्त्री थापालाई जानकारी गराउँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुद बनाउन पहल गर्ने बताए ।

उनले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै सो सहयोग थप गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। जापानी लगानीकर्तालाई नेपालमा लगानी गराउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने राजदूतले बताए ।