उर्जा

कुलो भत्केपछि हाइड्रोपावर आयोजना अवरुद्ध

बागलुङ । कुलो भत्केपछि निसीखोला गाउँपालिकास्थित दुई वटा लघुजलविद्युत् आयोजना अवरुद्ध भएका छन् ।

अविरल वर्षापछि गएराति खसेको पहिरोले कुलो पुरिँदा वडा नं १ स्थित निसीखोला पहिलो लघुजलविद्युत् आयोजना बन्द भएको हो ।

आयोजना बन्दभएपछि वडा नं १, २ र ढोरपाटन नगरपालिका–३ का करीब एक हजार घरधुरीमा बिजुली अवरुद्ध भएको छ । ऊर्जामा आधारित लघु तथा घरेलु उद्योग पनि प्रभावित बनेको वडा नं २ का अध्यक्ष कुवीर विकले जानकारी दिए ।

त्यस्तै दुई साताअघि खसेको पहिरोले कुलो बगाउँदा अवरुद्ध बनेको निसीखोला गाउँपालिका–४ स्थित निसीखोला दोस्रो लघुजलविद्युत् आयोजना पनि सञ्चालन हुन सकेको छैन । आयोजना सञ्चालन नहुँदा करीब एक हजार १०० घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।