बाग्मती

७ स्थानमा काठमाडौँ महानगरपालिका वडा कार्यालय

काठमाडौँ । चालू आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले नयाँ सात स्थानमा वडा कार्यालय भवन निर्माण गर्दैछ । यसअघि भाडामा दिई काम हुँदै आएका वडा नं ३, ४, ९, १२, १४ र २९ मा नयाँ भवन निर्माण गर्न लागिएको कामपा, भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले जानकारी दिए । तीमध्ये वडा नंं ३ र ४ का लागि बोलपत्र आह्वान भइसकेको छ भने सोमध्ये वडा नं ३ को भने सम्झौतासमेत भएको छ । चालू आवभित्रै सम्पन्न गर्ने गरी कामपाले सात वडामा नयाँ भवन निर्माण गर्ने तथा तीन वडाको तला थप गर्ने काम अघि बढाएको छ ।

त्यसैगरी वडा नम्बर नं ६, ७ र १५ मा तला थप गर्ने निर्णयअनुरुप काम भइरहेको छ । आफ्नो भवन नहुँदा काम गर्न समस्या भएपछि वडाको खाली जग्गामा भवन निर्माण गर्न लागिएको हो । कूल ३२ वडा रहेको कामपामा हालसम्म वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा ९ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको छ ।

कामपाले चालू आव २०७५/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । सोअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशेपुल कामपाले बनाउने छ ।