कृषि

सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

बनियानी, झापा । झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि औंजारको प्रयोग गर्न थालेका छन् ।

कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागतशैली छाडेर आधुनिक प्रविधिबाट धानखेती गर्नुभएको छ ,उनले ड्रम सिडर मेसिनको प्रयोगबाट छरुवा धानखेती गरेका हुन् ।

‘न धानको ब्याड राख्नुपर्ने, न त उखेल्नु नै पर्ने, साह्रै सजिलो लाग्यो’, कृषक लिम्बूले भने, “पहिला धेरै खेताला लगाउनुपथ्र्यो, त्यो भन्दा पनि काम गर्ने मान्छे नै नपाइने, नयाँ तरिकाले खेती गर्दा खर्च पनि कम भएको छ ।” उनले आधुनिक कृषि प्रविधि र कृषि औंजारको प्रयोगबाट राम्रो उत्पादन गर्न सकिने बताए ।

सुपरजोन परियोजना अन्तर्गत ५० प्रतिशत अनुदानमा उनले एउटा पावरट्रेलरसमेत खरिद गरे । खेत जोत्ने, सम्याउने र धान काट्ने तीन वटै काम उक्त मेसिनबाट हुने उनले बताए ।

त्यस्तै, उनले जैविक मल उत्पादनसमेत गर्न थालेका छन् । गड्यौलाले मलको प्रयोग गरेर अग्र्यानिक कृषिउपज उत्पादन गर्ने उनको योजना छ ।
त्यस्तै, कचनकवल–६ का अर्का किसान डिल्ली नेपालले पनि ड्रम सिडर मेसिनको प्रयोग गरेर छरुवा धानखेती गरे । उनले स्वर्ण १ र लल्का बासमती जातको धान लगाएको बताए । ‘उन्नत प्रविधिको प्रयोगले खेती गर्न सहज भएको छ’, उनले भने, “कम खर्चमै राम्रो उत्पादन लिन सकिने भएपछि यसतर्फ लागे” । कचनकल–७ जुनेली कृषि सहकारी संस्थाका व्यवस्थापक अर्जुन लामाले खर्च घट्ने र उत्पादन बढ्ने बुझेपछि सहकारी आवद्ध कृषि आधुनिक प्रविधितर्फ आकर्षित भएको बताए ।

‘अहिले धेरै कृषकले पावरट्रेलरको माग गरेका छन्, खेती गर्ने शैली नै परिवर्तन भइसक्यो’, जुनेलीमा ३९४ कृषक आवद्ध रहेको बताउँदै लामाले भने, “अहिले २०/२१ घरमा मुस्किलले एक हल गोरु पाइन्छ ।”

यस वर्ष सुपरजोन क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ । यहाँ नौ हजार हेक्टरमा धानखेती गरिएको छ । जसमध्ये दुई हजार हेक्टरमा सुपरजोनमा आवद्ध किसानले धानखेती गरेको सुपरजाने परियोजना कार्यान्वयन इकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमलसेनाले जानकारी दिए ।