कृषि

तरकारी बजार केन्द्र निर्माण हुने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार केन्द्र निर्माण गर्ने भएको छ । बजार क्षेत्रभित्र रहेका अव्यवस्थित तरकारी तथा फलफूललगायत कृषि उपज बजारलाई व्यवस्थित गर्नका लागि बजार केन्द्र निर्माण गर्न लागेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

रु एक करोड ८० लाखको लागतमा निर्माण हुनथालेको बजार केन्द्र तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको सेन्टर माविको १० कठ्ठा जमीनमा निर्माण गरिने नगर प्रमुख पाण्डेले जानकारी दिए ।

सो बजार केन्द्रको निर्माणका लागि यहाँका तरकारी तथा फलफूल व्यवसायीले रु ८० लाख र अन्य बाँकी रकम उपमहानगरपालिकाले लगानी गर्ने अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए ।

बजार केन्द्रको स्थापना भएपछि सडक किनारमा कृषकले तरकारी बेच्ने क्रमको अन्त्य हुने अपेक्षा गरिएको छ । बजार केन्द्रमा कृषकका उत्पादन गरेको तरकारी बिक्री गर्नका लागि पनि ठाउँ राखिने छ ।

“व्यवसायीका लागि मात्रै भन्दा पनि कृषकका लागि पनि काम लागोस् भन्ने सोचका साथमा हामीले केन्द्रको स्थापना गर्न थालेका हौ” नगरप्रमुख पाण्डेले भने ।

बजार केन्द्रको स्थापना हुने भएपछि अहिले तरकारी तथा फलफूल व्यापारीमा उत्साह छाएको छ । “तरकारी बजारको व्यवस्थापनका लागि बजार केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ” तरकारी व्यवसायी झुपलाल खड्काले भने ।

तुलसीपुरलाई स्मार्ट सिटी बनाउनका लागि बजार केन्द्र स्थापना अपरिहार्य रहेको भन्दै यसले तुलसीपुरको सुन्दरतालाई बढाउँदै लैजाने तुलसीपुर उपमहानगरपालिकाका ६ का वडाध्यक्ष नवराज लामिछानेले बताए ।

विद्यालयको जग्गा व्यवस्थापनसँगै तुलसीपुरमा रहेको तरकारी तथा फलफुल बजार व्यवस्थित गर्नका लागि विद्यालयले जग्गा २० वर्षका लागि भाडामा दिएको सेन्टर माविका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए । । उनले बजार केन्द्र वैज्ञानिक ढङ्गले निर्माण गरिने भएकाले विद्यालयलाई कुनै पनि प्रभाव नपर्ने पनि बताए ।