उर्जा

विद्युत् अनियमित हुँदा उपभोक्ता आजित

दोलखा । जिल्लाभर विद्युत् आपूर्ति अनियमित भएको भन्दै विद्युत् प्राधिकरण दोलखालाई नियमित गर्न नागरिक समाजले ध्यानाकर्षण गराएको छ ।

नागरिक समाजका अगुवा चीरञ्जीवी मास्के, क्षेत्रीय होटल सङ्घ दोलखाका अध्यक्ष रञ्जितकुमार पाठक, दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्की, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ दोलखाका अध्यक्ष श्याम कायस्थलगायतकोे टोलीले विद्युत्को नियमित आपूर्ति गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको हो । एक दिनमा ३०–४० पटकसम्म विद्युत् अनियमित हुँदा समग्र व्यवसायी, सर्वसाधारण, सरकारी कार्यालयलगायत आम उपभोक्ता आजित भएपछि ध्यानाकर्षण गराइएको क्षेत्रीय होटल सङ्घ दोलखाका अध्यक्ष पाठकले जानकारी दिए।

यता, प्रशारण लाइनको क्षमता कमजोर भएकोले नियमित गर्न नसकिएको प्राधिकरण शाखाका प्रमुख अमृतबाबु अधिकारीले स्वीकार गरे । उनले भने, “वर्षामा जलविद्युत् आयोजनाको क्षमताभन्दा बढी विद्युत् उत्पादन गर्ने र त्यसलाई प्रशारण गर्ने लाइनको क्षमता कमजोर रहेकोले तार अत्यधिक तातेर ओभरलोड भई आपूर्तिमा समस्या आएको हो । ”

सोही टोलीले दोलखाका प्रमुख जिल्ला अधिकारीलाई विद्युत्को निममित आपूर्तिको लागि सहजीकरण तथा आवश्यक निर्देशन पठाउन ज्ञापनपत्र बुझाएको छ । सोही क्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले आवश्यक पहल गरी तत्काल समस्या समधान गर्ने प्रतिबद्धता जनाए ।