स्वास्थ्य

कागेश्वरीमा वाग्मती सफाइको सञ्जाल

काठमाडौँ । वाग्मती सफाइ महाअभियानलाई नदीसँग जोडिएका सबै वडामा फैल्याउने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिका–१ मा पनि सञ्जाल विस्तार गरिएको छ ।

साविकको गाँगलफेदी गाविसमा वाग्मती सुन्दरता सरोकार मञ्चको वडासमिति गठन गरिएको हो । १३ सदस्यीय समितिको नेतृत्व स्थानीय युवा वसन्त थापाले गरे । समिति गठनका अवसरमा वडा नं १ का अध्यक्ष मुकुन्द गजुरेलले नगरपालिका– १ लाई सफा, सुन्दर बनाउँदै पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य लिइएको बताए । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा’ भन्ने नारासहित मञ्चले स्थानीयवासीलाई सफाइमा सहभागी गराउन प्रेरणा जगाउँदै आएको छ ।

मञ्चको गठनसँगै वाग्मती र मनोहरा नदीको मुहानमा विशेष सफाइ अभियान केन्द्रित हुनेछ । राजधानीको नजिकैको रमणीयस्थल कागेश्वरीधाम हुँदै बग्ने कागेश्वरी नदी सुन्दरीजलस्थित वाग्मतीमा मिसिन्छ । नगरपालिका–१ को अर्को भागबाट झरनाको स्वरुपमा बगेको सात घट्टे नदी मनोहरा नदीमा मिसिन्छ । मञ्चमा ५०० संस्था आवद्ध भएको संयोजक उत्तम पुडासैनीले बताए ।

मञ्चले छाता सङ्गठनका रुपमा अभियान चलाउँदै आएको छ । हालसम्म वाग्मती नदीसँग जोडिएका वडामा समिति गठन हुँदै आएकामा मनोहरासँग जोडिएका वडामा पनि विस्तार गरिएको उनले बताए । सफाइले अब प्रत्येक वडामा प्राथमिकता पाउनुपर्छ र स्थानीय सरकारले सफाइ अभियानको स्वामित्व ग्रहण गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न मञ्च सक्रिय रहने जनाइएको छ ।