गण्डकी प्रदेश

अख्तियारद्वारा ६१ प्रतिशत उजुरी फछ्र्योट

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा ६१ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । अघिल्लो आवमा जिम्मेवारी सरेका २४० र आव २०७४/७५ मा नयाँ दर्ता भएका ४९३ सहित ७३३ उजुरीमध्ये ४४६ वटा फछ्र्योट भएको मङ्गलबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा जानकारी दिइयो ।

कार्यालयका उपसचिव रमेश ढकालका अनुसार नवलपुरबाहेकका गण्डकी प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी ३४६ वटा उजुरी कास्कीमा परेको छ त्यसपछि क्रमशः पर्वतमा ८३, तनहुँमा ६२, स्याङ्जामा ६०, बागलुङमा ५५, लमजुङमा ४९, म्याग्दीमा ४१, गोखरामा २६, मुस्ताङमा चार र मनाङमा एकवटा मात्र उजुरी परेको छ ।

त्यस्तै आयोगको कार्यक्षेत्रअन्तर्गतको लुम्बिनीमा छ वटा मात्र उजुरी परेको थियो । यीमध्ये धेरै उजुरी परेको कास्कीमा २०० उजुरी (५८ प्रतिशत) फछ्र्योट भएको र थोरै उजुरी परेको मनाङमा (एक वटा मात्र) शत प्रतिशत फछ्र्योट भएको छ । उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तह त्यसपछि क्रमशः शिक्षा, स्वास्थ्य, सङ्घसंस्थामा रहेको छ ।

कार्यालयका प्रमुख काशीराज दाहालले भ्रष्टाचारजन्य गतिविधिमा नयाँनयाँ प्रविधि र प्रयोग बढिरहेको बताउँदै नयाँ पुस्तामा नैतिकता र सदाचारिताको विकास आवश्यक रहेको बताए ।  भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको विकास गर्ने वातावरण सिर्जना गर्नु आवश्यक भएको बताउँदै उनले आयोगको निर्णय कार्यान्वयनमा सञ्चारकर्मीको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।