लुम्बिनी

आधुनिक शहर बनाउन गढवा छनोट

तुलसीपुर । शहरी विकास मन्त्रालयले तराई –मधेशमा सम्भावित नयाँ शहर बनाउन गढवा गाउँपालिकालाई छनोट गरेको छ । छनोटसँगै अब गाउँपालिकामा एकीकृत विकास गुरुयोजना सञ्चालन हुने भएको छ । तराई– मधेशमा नेपालका १५ आधुनिक शहर निर्माण गर्ने कार्यक्रममध्ये गढवा छनोट भएको र एकीकृत विकास गुरुयोजना कार्यक्रम लागू भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । छनोटमा परेलगतै सम्पूर्ण पूर्वाधारबारे गढवा गाउँपालिकामा विज्ञ टोलीसहित सरोकारवालाबीच मङ्गलबार वृहत छलफल सम्पन्न भएको छ ।

‘‘प्राकृतिक स्रोतले भरिपूर्ण पूर्वाधार, सुन्दर गढवा, शिक्षा, पर्यटन र समृद्ध शहरको आधार’ भन्ने मूलनारासमेत तय भएको गाउँपालिकाले जनाएको छ । मन्त्रालयको नयाँ शहर कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकामा पहिलो चरणमा पाँच वर्षे एकीकृत योजना तयार, सम्भाव्यता अध्ययन, प्राविधिक नक्सा, गाउँपालिकाको विवरणयुक्त अभिलेख तयार गरिनेछ । भिन्दा भिन्दै विश्लेषणात्मक अध्ययनको आधारमा नयाँ शहरको रणनीति बमोजिम गाउँपालिकामा कस्तो ढङ्गको शहरी विकास कार्यक्रम लागू गर्ने भन्ने गुरुयोजना तयार गरिने नयाँ शहर योजनाका परामर्शदाता शहरी योजनाविद् सुमनकुमार कर्णले बताए ।

गााउँपालिकाको भौतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, पर्यटन, वित्तीय, वातावरण, प्रकोप व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन गरी नौ वटा क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न दीर्घकालीन गुरुयोजना बनाइने भएको छ । गाउँपालिकाका सडक सञ्जाल स्तरिकरण, जग्गा विकास कार्यक्रम, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, एकिकृत बस्ती विकास र ल्याण्डफिल साइट व्यवस्थापनलगायतका कार्य गरिने भएको गाउँपालिकाले जनाएको छ । ती कार्य व्यवस्थापन गर्न एउटा मूल र नौ उपसमिति गठन गरिने छ ।

अल्पकालीन कार्यक्रम पाँच, मध्यकालीन १० र दीर्घकालीन अन्तर्गत २० वर्षे विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर०का गुरुयोजना बनाएर काम गरिने छ । “पूर्वाधारयुक्त, बसोवास योग्य, रोजगार, सीप तथा क्षमताको विकास, आकर्षक योग्य भौतिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरिने छ,” शहरी योजनाविद् कर्णले भने ।