लुम्बिनी

तुलसीपुरलाई हरित नगर बनाउने अभियान

दाङ । तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्नका लागि सञ्चालन गरिएको ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ अभियानअन्तर्गत मंगलबार यहाँका सडक किनारमा विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको छ ।

अभियानको १०५औँ शृङखलाका क्रममा तुलसीपुर उद्योग वाणिज्य चोकदेखि जेसिज चोकसम्म विभिन्न प्रजातिका बिरुवा लगाइएको हो । उपमहानगरपालिकाले अहिलेसम्म बजारक्षेत्रमा रहेका मन्दिर, क्याम्पस, कार्यालय परिसरमा गरी विभिन्न प्रजातिका चार हजार बढी बिरुवा रोपिसकेको जनाएको छ ।

अभियानको शुरुवात गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य र सुन्दरताको लागि सबैले बोटबिरुवा लगाउनुपर्ने बताए।
तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय सरसफाइ अभियानका साथमा बिरुवासमेत लगाउँदै आएको छ । यो अभियानअन्र्तगत नगरका सम्पूर्ण सडकमा बिरुवा लगाइने छ ।