शिक्षा

४९ विद्यार्थी पढाउन पाँच शिक्षक

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् । नगरपालिका कार्यालयदेखि झण्डै दुई किलोमिटरको दूरीमा रहेको उक्त विद्यालय लामो समयदेखि विद्यार्थी अभाव झेल्दै आएको छ । पचास विद्यार्थी बरावर एक शिक्षक हुनुपर्ने नियमअनुसार पनि एउटा शिक्षकले पढाउन मिल्ने विद्यार्थी सङ्ख्या छैन । हाल बालकक्षामा १८, कक्षा एकमा चार, कक्षा दुईमा १०, कक्षा तीनमा छ, कक्षा चारमा पाँच र कक्षा पाँचमा ६ विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीमध्ये पनि कम मात्रै विद्यालय आउने गरेको प्रधानाध्यापक अमरराज उपाध्ययले बताए ।

विद्यालयको पहुँच क्षेत्र कम, नीजि विद्यालयको चाप बढ्नु तथा अन्य सामुदायिक विद्यालय नजिक हुँदा विद्यार्थी अभाव भएको उनको भनाइ छ । “विद्यार्थी थप्न अभिभावकको घरदैलोमै पुग्ने गरेका छौँ, अधिकांशले नीजि विद्यालयमा बालबालिका भर्ना गर्ने गरेका छन्” उनले भने। विद्यालयमा एक स्थायी, दुई राहत र दुई बालकक्षामा पढाउने शिक्षक कार्यरत छन् । विद्यार्थीको पढाइको स्तर निकै कमजोर रहेको पाइएको छ । “सबैलाई उत्तीर्ण गर्नुपर्ने नियम छ, पढाइको स्तर सोचेजस्तो छैन,” उनले भने ।

विद्यार्थी न्यून भएकाले नजिकको सामुदायिक विद्यालयमा समायोजनका लागि पहल भइरहेको छ । नगरपालिकाका वडाध्यक्ष लालबहादुर ऐरले पढाइको गुणस्तर कमजोर र न्यून विद्यार्थी भएकाले छिट्टै विद्यालय समायोजन गरिने बताए । वार्षिकरूपमा शिक्षकले तलबबापत रु १० लाख ९१ हजार, प्रशासनिक खर्च रु २० हजार, किताब खरिद गर्न रु १० हजार तथा छात्रवृत्तिबापत रु १२ हजार खर्च हुने गरेको छ । यहाँ ९५ प्रतिशत विद्यार्थी दलित समुदायका रहेका छन् ।