गण्डकी प्रदेश

बकर–इद मनाइँदै

पोखरा । इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बकर–इदका अवसरमा पोखराको इदगाहमा इस्लाम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरिएको अलि मियाँ बाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष एवं धर्मगुरु हनिफ मियाँले जानकारी दिए ।

पोखरामा दश हजारको हाराहारीमा रहेका मुश्लिम समुदाय खुशीयालीका साथ पर्व मनाउन जुटेको उनले बताए । यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको धर्मगुरु मियाँले बताए।