समाचार

जनस्वास्थ्य विधेयक –२०७५ स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘जनस्वास्थ्य विधेयक–२०७५’ प्रस्तुत भएको छ । संविधानमा ‘प्रत्येक जनतालाई आधारभूत स्वास्थ्य सेवाको हक’ हुनेछ भन्ने व्यवस्था गरिएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो विधेयकलाई बैठकमा पेश गरे ।

विधेयकको सैद्धान्तिक छलफलमाथि भाग लिँदै पूर्वस्वास्थ्यमन्त्री एवं सांसद खगराज अधिकारीले विशिष्ट व्यक्ति देश बाहिर उपचार गर्न जाँदा आफ्नै खर्चले जाने व्यवस्था गर्नुपर्छ भने ।

सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय जनस्वास्थ्य नीति बनाउन, स्वास्थ्य बीमा र आकस्मिक स्वास्थ्य कोषलाई विधेयकमा प्रभावकारी बनाइएको वताए । सांसद शेरबहादुर तामाङले अधिकाँश जिल्ला अस्पतलामा विशेषज्ञ चिकित्सक पु¥याउन नसकिएको अवस्थामा ऐनले ढोका खुला गराएको छ भने ।

सांसद पद्म गिरीले स्वस्थ्य नागरिकबाट मात्र समृद्ध नेपालको निर्माण हुने बताउँदै पैसा नभएका कारण उपचार गर्नबाट वञ्चित हुन नपरोस् भन्ने ध्येय विधेयकले राखेको धारणा व्यक्त गरे ।

सांसद नवराज सिलवालले आधारभूत स्वास्थ्यलाई निःशुल्क गर्न विधेयक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सांसद लक्ष्मी परियारले नम्र स्वभावको स्वास्थ्य सेवा कार्यान्वयनमा ल्याउन जरुरी रहेको बताए ।

पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगनकुमार थापाले स्वास्थ्य सेवामा पहुँच मात्र होइन, गुणस्तरमा ध्यान दिन, जनस्वास्थ्य मैत्री वातावरण बनाउन, उपचारको प्रोटोकल सबै रोगमा पु¥याउन र विशेष सेवामा साझेदारी कार्यक्रम ल्याउने गरी विधेयक आउनुपर्छ भने ।

सांसद प्रेम सुवालले वीर अस्पतालस्थित उच्च पदाधिकारी उपचार कक्ष किन स्थापना गरिएको भन्ने प्रश्न गर्दै निःशुल्क वितरण गरिने औषधि गुणस्तरयुक्त हुनुपर्ने सुझाव दिए ।

सांसद अञ्जना विसंखे, आशाकुमारी विक, पुष्पा भुषाल गौतम, गजेन्द्रबहादुर महत, शान्तिमाया तामाङ, प्रमोद यादव र रेखाकुमारी झाले विधेयकको सैद्धान्तिक छलफलमाथि भाग लिएका थिए ।

छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले जनताको जीवन र आयुलाई लामो बनाउन सरकार र समुदायको महत्वपूर्ण भूमिका हुन्छ भने ।

उनले रोग लाग्ने कारकत्व पानी, खाना, वातावरणलाई सुधार एवं व्यवस्थित गर्न सरकारको ध्यान जाने चर्चा गर्दै स्वास्थ्य बीमाको माध्यमबाट सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउने छ भने ।

उपप्रधानमन्त्री यादवले निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विधेयक आएको जानकारी दिए।

बैठकले जनस्वास्थ्य विधेयक–२०७५ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक भदौ ७ गते दिउँसो १ बजे बस्नेछ ।