राजनीति

नव निर्वाचित प्रधानमन्त्री इमरान खानले भनेः सुशील कोइराला जस्तो नेता बन्नेछु

काठमाडौं । पाकिस्तानका नव निर्वाचित प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् ।

उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५ सय २४ जना थियो । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका हुन् ।

खानले बानागालास्थित आफ्नै घरमा बस्न चाहेका थिए । तर, सुरक्षा एजेन्सीहरुले त्यहाँ सुरक्षा खतरा रहेको बताएपछि सैन्य सुरक्षा भएको घरमा बस्न थालेका हुन् । ‘म त बानागाला छाड्न चाहन्नथेँ’ खानले भनेका छन्, ‘तर, यसका लागि बाध्य भएँ ।’

प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ कार थियो । खानले भने २ वटा मात्र प्रयोग गर्ने भएका छन् । बाँकी कार छिट्टै लिलामी गर्ने योजना अघि सारेका छन् । यसबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । साथै सरकारी खर्च कटौतीका लागि डा. इस्रत हसनीको नेतृत्वमा समिति नै बनाउने प्रधानमन्त्री खानले बताएका छन् ।

शपथ ग्रहणपछि विश्वका सादगीपूर्ण प्रधानमन्त्रीहरूको नाम लिने क्रममा नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पनि नाम लिएका थिए ।

उनले भनेका थिए ‘ नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइराला मर्दा आफ्नो नाममा जम्मा दुर्इ वटा मोवाइ मात्र थिए । उहाँको आफ्नो निवास समेत थिएन । भाइको घरमा बसेका थिए उहाँ । म पनि उहाँको सादगी जीवनबाट प्रभावित छु । उहाँको जस्तो जीवन शैली अनुशरण गर्नेछु ।’

पूर्वप्रधानमन्त्री कोइरालाले प्रधानमन्त्रीका हैसियतले पाउने सुविधा नलिएको र त्यसका लागि उनको भन्दै उनले व्यापक प्रशंसा पनि गरे ।

समाचारमा बीबीसीलाई उद्धृत गर्दै लेखिएको छ, ‘प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुअघि सुशील कोइराला काठमाडौंमा भाडाको घरमा बस्नुहुन्थ्यो । उहाँ पहिले पनि काठमाडौं आउँदा होटेलमा बस्नुको साटो भाइको घरमा बसेको बताइन्छ ।’

खानले विश्वका अन्य सादगीपूर्ण नेताको नाम लिने क्रममा उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिका र मलावीकी पहिलो महिला राष्ट्रपति जोएस बान्डाको पनि नाम लिएका थिए । –एजेन्सीको सहयोगमा