समाचार

निर्माला हत्याकाण्डले नयाँ मोड लिएपछि प्रहरीले गर्यो चार राउन्ड हवाईफायर

काठमाडौं । तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले गरेका विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो तर बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासी सडकमा उत्रेका हुन् ।

मंगलबार भएको स्थानियको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाईफायर र १० सेल अश्रुग्यास प्रहार गरेको छ । ‘मानसिक सन्तुलन गुमाएको व्यक्ति’ पक्रेर वास्तविक अपराधीलाई जोगाउन खोजेको आन्दोलनकारीहरुको भनाई छ ।

नागरिक समाज र अधिकारकर्मीले वास्तविक हत्यारालाई सार्वजनिक गर्न दबाब दिइरहेका छन् ।

गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो ।