स्वास्थ्य

जनावरको डिएनए शुरुसँगै नयाँ मुद्दा

ललितपुर । नेपालमा जङ्गली जनावरका डिएनए परीक्षण शुरु भएसँगै नयाँँ खालका मुद्दासंग सम्बन्धित डिएनए परीक्षणका लागि आउन थालेका छन् ।

खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुई वर्ष पहिलेदेखि जनावरको डिएनए परीक्षण शुरु गरेको हो । जङ्गली जनावरको स्वरुप बदलेर निर्यात हुने, जङ्गली भनेर घरपालुवा वा घरपालुवा भनेर जङ्गली जनावर बिक्री हुने, छिमेकी मुलुक वा तेस्रो मुलुकबाट समेत जनावरको अङ्ग चोरी हुनेजस्ता मुद्दाका डिएनए परीक्षणका लागि आइरहेको प्रयोगशालाका निर्देशक जीवनप्रसाद रिजालले बताए ।
प्रयोगशालामा जनावरको डिएनए परीक्षण शुरु भएको सबैलाई जानकारी भएसँगै यहाँ विभिन्न मुद्दासंग सम्बन्धित जनावरका डिएनए परीक्षणका लागि आउने क्रम बढिरहेको छ । उनले भने, “वर्षौंदेखि थन्किएका मुद्दामा समेत हामीले डिएनए परीक्षण गरेर राय दिएका छौँ ।”

प्रयोगशालामा सबैभन्दा बढी वन कार्यालयबाट डिएनए परीक्षणका लागि आइरहेको निर्देशक रिजालले बताए । धेरै मुद्दामा जनावरका अङ्गको स्वरुप बदलेको अवस्थामा प्रयोगशालामा आइपुग्ने गरेको छ । खुल्ला आँखाले हेर्दा ती जङ्गली जनावरकै मासु हो/होइन छुट्टाउन सकिँदैन । मासुलाई सुकुटी वा अरु परिकारका रुपमा आयात–निर्यात हुने गरेको छ । उनले भने, “कहिलेकाहीँ जङ्गली जनावर भनेर घरपालुवा जनावरको अङ्गसमेत बिक्री–वितरण भएको पाइएको छ ।”

प्रयोगशालाले मानवसँगै जनावरको डिएनए परीक्षण शुरु गरेकाले धेरै वन्यजन्तु चोरी–शिकार गरेर निर्यात हुन लागेका घटना परीक्षणका लागि आएका छन् । निर्देशक रिजालले भने, “वन कार्यालयको आँखा छल्नका लागि अपराधीले नयाँ–नयाँ प्रयोग गरिरहेको पाइएको छ ।”

प्रयोगशालाले पहिले अन्य विधिबाट जनावरको डिएनए परीक्षण गर्दै आएको थियो । डिएनए परीक्षण शुरु नहुँदा कतिपय मुद्दाको कार्यान्वयन भए कतिपयको हुन नसकेको थिएन । पहिले पुराना भइसकेका र स्वरुप बदलिएका जनावरका अङ्गका बारेमा राय दिन नसकिएको प्रयोगशालाले जनाएको छ । निर्देशक रिजालले भने, “हामीले अन्य प्रविधिबाट परीक्षण गर्दा र नहुने विषयमा फिर्ता पठाउने गरेका थियौँ तर डिएनए परीक्षण शुरु भएपछि कुनै पनि मुद्दा फर्काउन परेको छैन ।” । जनावरको अङ्गको स्वरुप बदलेर आउँदा डिएनए परीक्षणबाट कुन जनावरको कुन अङ्ग भन्ने पत्ता लगाउन सम्भव भएको छ ।

बाघको मासु सुकुटी बनाउन, अरु भाग औषधि बनाउन प्रयोग गरिन्छ भने कस्तुरीको बीना र भालुको पित्त औषधि बनाउनका लागि प्रयोग हुँदै आएको छ । उनले भने, “कुन देशमा कुन जनावरको माग छ भन्ने बुझेर चोरले जनावर मारेर बिक्री गर्ने गरेका छन् ।”

प्रयोगशालाले यहाँ आएका जनावरका अङ्गमा कुन जनावर नेपालकै हो र कुन होइन भन्ने समेत छुट्टाउँदै आएको जनाएको छ । रिजालले भने, “अधिकांश घटनामा हामी जनावर हाम्रो हो कि होइन भनेर छुट्टाउन सक्छौँ ।” नेपाल, भारत, चीनलगायत छिमेकी देशको हो वा अफ्रिका, अमेरिकालगायत तेस्रो मुलुकका जनावर हो वा यहीँको भन्ने पनि सजिलै छुिट्टने उनले बताए ।

प्रयोगशाला मानव र जनावरका डिएनए परीक्षण एउटै प्रयोगशालाबाट हुने दक्षिण एशियाको एकमात्रै प्रयोगशाला हो । वर्षौं पुराना हाड भेटिँदा मानवको हो वा जनावरको भन्ने पत्ता लगाउन यसले सहयोग गर्छ । उनले भने, “एउटै प्रयोगशालाबाटै जनावरको भए पनि कुन जनावर हो र कुन ठाउँको भन्ने छुट्टाउन सकिन्छ ।”

परीक्षणका लागि आउनेमा गैँडाको खाग र छाला, हात्तीको दाह्रा, कस्तुरीको बीना, पाटेबाघ, चितुवाको छाला बढी रहेको निर्देशक रिजालले बताए । यी जनावरको छाला, खप्पर, हाड, नङ्ग्रा खाग, छाला, दाह्रा, बीनालगायतका अङ्ग चोरी सिकार बढी हुने गरेको दुई वर्षमा आएका मुद्दाले देखाएको छ । जीवित कछुवा तथा कछुवाका खपटा, हाब्रेको छाला र बँदेल, मृगको सुकुटी पनि परीक्षणका लागि आइरहेको छ । उनले भने, विभिन्न अदालतबाट आएका मुद्दामा हामीले उनीहरुलाई नतिजा दिइसकेका छौँ ।” गत वर्षबाट उड्ने लोखर्के, डाफेँको प्वाख, मयूरको प्वाँखलगायतका आखेटोपहार पहिचान गर्न थालिएको प्रयोगशालाका निर्देशक रिजालले बताए । प्रयोगशालामा अहिले कतिपय नौला खालका आखेटोपहार आउन थालेका छन् ।

प्रयोगशालामा आर्थिक वर्ष २०७३/७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०२ नमूना परीक्षणका लागि आएका थिए । प्रयोगशालामा विसं २०६२/६३ मा मानव डिएनए परीक्षण शुरु भएको थियो ।