पर्यटन/संस्कृति

पर्यटकलाई तालीम

भक्तपुर । भक्तपुर आउने विदेशी पर्यटकलाई भक्तपुरकाबारेमा सजिलै जानकारी दिने उद्देश्यले भक्तपुर नगरपालिकाले पथ प्रदर्शक तालीम सञ्चालन गरेको छ ।

भक्तपुर नगरभित्रको सांस्कृतिक सम्पदा, जात्रापर्व, रहनसहन, रितिरिवाज, परम्परा, जनजीवन, पोशाक, परम्परागत खाना लगायतकाबारेमा पथप्रदर्शकमार्फत सहज जानकारी गराउन तालीम दिइएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । देशका विभिन्न ठाउँबाट आएका ६७ जनाको तालीममा सहभागिता छ । नगर प्रमुख प्रजापतिले पर्यटन विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए ।

पाँच सय ९९ मुद्दा दर्ता

महानगरीय प्रहरी परिसर भक्तपुरमा यसवर्ष विभिन्न आपराधिक घटनाका ५९९ मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले विगतको तुलनामा यसवर्ष घटना र मुद्दाको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले आर्थिक वर्ष २०७२/७३ मा ४३८ र २०७३/७४ मा बढेर ४८६ मुद्दा दर्ता भएकोमा २०७४/७५ मा यो संख्या २० प्रतिशत बढेर ५९९ पुगेको बताए । प्रहरी उपरीक्षक श्रेष्ठले भने,“दैनिक घट्ने कतिपय आपराधिक घटना प्रहरीसम्म आइपुग्दैन, यसवर्ष विगतभन्दा बढेर आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्, अहिले मुद्दा दर्ता गर्ने क्रम बढेको छ ।”

दर्तामध्ये लागुऔषध सम्बन्धी मुद्दामा गतवर्ष १५ भएकोमा यसवर्ष साउनसम्म २२ छन् । गत वर्ष १८५ सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता भएकोमा यस वर्ष २५० पुगेको छ । गतवर्ष ३० चोरीका मुद्दा दर्ता भएकोमा यसवर्ष ५७ पुगेको छ । भक्तपुरमा गत वर्ष ३३ फुटकर ज्यान र ३७ भवितव्य ज्यानका मुद्दा दर्ता भएकोमा यसवर्ष क्रमशः ३८ र ५० मुद्दा दायर भएका छन् । गतवर्ष ११ जबरर्जस्ती करणको मुद्दा दर्ता भएकोमा अहिले २० पुगेको छ । गतवर्ष सात बहुविवाहका मुद्दा दर्ता भएकोमा यसवर्ष १० वटा पुगेको छ ।