अन्तर्राष्ट्रिय

चीन र ताइवानबीच विवादको आगो दन्कियो

ताइपेई । चीनले एल साल्भाडोरसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापना गरेको घोषणा लगत्तै ताइवानले एल साल्भाडोरसँगको दौत्य सम्बन्ध विच्छेद गरेको छ ।

ताइवानका विदेशमन्त्री जोसेफ ऊ ले सम्बन्ध विच्छेद गरेको घोषणा गर्दै चीनको पछिल्लो कदम “अशिष्ट” रहेको प्रतिक्रिया दिए।

“हामी चीन उनले भने, “यस्तो परियोजनाले दुबै मुलुक ऋणको बोझले थिचिने भएकाले हामीले स्वीकार गर्न मानेका थिएनौं ।”

यो कदमसँगै ताइवानसँग दौत्य सम्बन्ध भएका मुलुकको संख्या १७ पुगेको छ र ताइवानसँग सम्बन्ध राखेकाहरु पनि चीनतर्फ ढल्किदै गएका छन् । चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा रहेको दाबी गरिआएको छ ।

राष्ट्रपति चाई इङ–वेन शक्तिमा आएसँगै बेइजिङ र ताइपेईबीचको सम्बन्ध चिसिएको छ । राष्ट्रपति चाईले ताइवान “एक चीन” का रुपमा मान्यता दिन अस्वीकार गरिरहनुभएको छ । सन् २०१६ मा राष्ट्रपतिमा चाई निर्वाचित भएदेखि नै चीनले ताइवानका मित्रदेशलाई आफूतिर आकर्षित गर्ने नीति लिएको छ ।

चाईको राष्ट्रपतीय शासनकालमा ताइवानको कुटनीतिक सम्बन्ध एल साल्भाडोर सहित पाँच देशसँग विच्छेद भइसकेको छ, यसै वर्षमात्र तीन देशले ताइवानसँगको सम्बन्ध विच्छेद गरेका छन् । यसै वर्ष बुर्किना फासो र डोमिनिकन रिपब्लिकले ताइवानसँगको दौत्य सम्बन्ध त्यागेका थिए ।

ताइवान र चीन दुवैले विकासशील मुलुकहरुमा कुटनीतिक सम्बन्ध विस्तार गर्न विगतदेखि नै तानातान गरिरहेका थिए । कुटनीतिक मान्यताका लागि यी दुवै देशले आर्थिक सहायता र अन्य सहयोगको हात फैलाउँदै आएका छन् ।

राष्ट्रपति चाईको वर्तमान सरकारले ताइवानको अन्तर्राष्ट्रिय प्रतिष्ठा वृद्धि गर्ने प्रयत्न गरिरहेको छ तर विश्वमञ्चमा बेइजिङको तिब्र प्रभावले त्यो सम्भव हुन सकेको छैन ।

बेइजिङले अन्तर्राष्ट्रिय मञ्चहरुबाट ताइवानको उपस्थितिलाई एकपछि अर्को गर्दै हटाउँदै लगेको छ र ताइवानको वरिपरि सैनिक अभ्यासको क्रम बढाएको छ । –एजेन्सी