प्रदेश 2

बसले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु

गौशाला । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सात घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पो चालक बर्दिबास नगरपालिका–५ का ५० वर्षीय होमबहादुर लोप्चन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । काँकडभिट्टाबाट पश्चिमतर्फ आइरहेको मे१ख २५३७ नं को बसले टुटेश्वरनाथ बोलबमबाट बर्दिबासतर्फ आउदै गरेको ज१ह ११२६ नं को टेम्पोलाई बर्दिबास–५ लचकामा ठक्कर दिएको हो ।

घाइते लोप्चनको जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । घाइते पाँच जनाको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते बर्दिबास–५ का सङ्गीता लामा र सुकमाया घिसिङलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।