स्वास्थ्य

एचआइभी संक्रमितलाई उपचार खर्च

उर्लाबारी, मोरङ । मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रु १० हजार उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । सोमबर बसेको गाउँपालिकाको २८औँ कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष नगेन्द्र कार्कीले जानकारी दिए ।

गाउँपालिकाको स्वास्थ्य शाखामा हाल १२ एचआइभी संक्रमित सम्पर्कमा आएका छन् । संक्रमितलाई उपचार खर्च उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले बताए। गाउँपालिकाले गरेको कामबारे प्रत्येक वडामा सार्वजनिक सुनवाइ कार्यक्रम गर्ने तथा बाढीपहिरोको जोखिम भएको ठाउँमा तटबन्ध निर्माण गर्न रु २० लाखको तारजाली उपलब्ध गराउने निर्णय गरेको छ । विकास निर्माणका काममा र आपतकालीन अवस्थामा प्रयोग गर्न एक थान जेसिबीसमेत खरिद गरेको छ ।