स्वास्थ्य

जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा उपचार गराउन भारतीय अस्पताल

बैतडी । जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामी मारमा परेका छन् । बिरामी दिनहुँ उपचारका लागि भारतका निजी अस्पताल धाउन बाध्य छन् । सामान्य शल्यक्रियाका लागि समेत बिरामी भारतीय अस्पताल जानुपर्ने अवस्था रहेको दोगडाकेदार गाउँपालिका–२ बडियाका वीरबहादुर भाट बताउँछन् । “जिल्ला अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध छैन, सामान्य समस्या हुँदा पनि भारतीय अस्पतालको भर पर्नुपर्छ,” उनले भने ।

जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी नै छैन । अन्य दरबन्दीका चिकित्सकसमेत जिल्लामा बस्दैनन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र बिष्टका अनुसार जिल्लामा नवौँ तहको एक तथा आठौँ तहको दुई चिकित्सक दरबन्दी छ । अहिले आठौँ तहको एक चिकित्सक मात्र कार्यरत छन् ।

उनले भने, “एक करारका चिकित्सक कार्यरत छन्, विशेषज्ञ सेवा नहुँदा बिरामी भारत जाने क्रम बढ्दो छ ।” स्वास्थ्य सेवा विभागले छात्रवृत्ति पाएका करार सेवाका चिकित्सक दुर्गमका अस्पतालमा पठाउन नसकेको उनको भनाइ छ । सेती अञ्चल अस्पताल धनगढी र उपक्षेत्रीय अस्पताल डडेल्धुरा टाढा भएका कारण बिरामी अधिकांश भारतको पिथौरागढ जाने गरेका छन् । उनीहरु भारतमा महङ्गोमा उपचार गराउन बाध्य छन् ।

जिल्ला अस्पतालमा ६ वर्षदेखि सञ्चालनमा रहेको जटिलतायुक्त प्रसुति सेवा बन्द भएको छ । उक्त सेवा ६ महिनादेखि बन्द छ । अहिले गर्भवती महिला सुत्केरी गराउनसमेत भारतीय अस्पताल जाने गरेका छन् । अस्पतालमा कार्यरत एनेस्थेसिया सहायकको निधन भएका कारण सेवा बन्द भएको डा बिष्टले बताए । शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवतीलाई अन्यत्र सिफारिश गर्नुपर्ने अवस्था छ ।