प्रदेश 1

बीस लाखको छात्रवृत्ति

बनियानी, झापा । हल्दिबारी गाउँपालिकाले १० विद्यार्थीलाई रु २० लाखको छात्रवृत्ति प्रदान गरेको छ । पशु विज्ञान सम्बन्धी अध्ययनका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराइएको सो गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । विद्यार्थीलाई आवासीय सुविधासहित पशु विज्ञान सम्बन्धी अध्ययन गर्न कमल गाउँपालिकामा रहेको सरस्वती मावि र प्राविधिक शिक्षालयसँग सम्झौता गरिएको उनले बताए ।

“गाउँपालिकाभित्रै प्राविधिक जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य छ,” उनले भने । गाउँपालिकाले पाँच वडाबाट प्रतिवडा दुईका दरले विद्यार्थी छनोट गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । विद्यार्थीलाई कृषि, भेटनरी र माछापालन सम्बन्धी शिक्षा दिइने छ । अध्ययनपछि विद्यार्थीलाई गाउँपालिकाले रोजगारको व्यवस्था गर्नेछ । सो गाउँपालिकाले ‘हल्दिबारीको बाचा, झापाभरि माछा’ अभियानका साथ माछापालनका लागि ५० बिघामा पोखरी निर्माण गरिरहेका छ ।