समाचार

नुरप्रसाद अदालतमा अनुपस्थित भएपछि २४ गतेलाई यसरी सर्यो मुद्धा

चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारी अदालतमा उपस्थित भएनन् । अदालतले उनलाई आज हाजिर हुन मिति दिएको थियो ।

चितवन जिल्ला अदालतले साउन २० गते नुरप्रसादलाई भदौ ४ गते अदालतमा झिकाउन आदेश गरेको थियो । अदालतको आदेशपछि नुरप्रसादको गोरखास्थित घरमा रितपूर्वक मिति तामेली गरिएको अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । तोकिएको मितिमा नुरप्रसाद अदालत हाजिर नभएपछि भदौ २४ गते आइबारका लागि मुद्दाको पेशी तोकेको घिमिरेले बताए ।

यसअघि फागुन १३ गते अधिकारीलाई झिकाउन म्याद जारी गरिएको थियो । सो समयमा जिल्ला अदालत गोरखाका कर्मचारीहरुले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँस गरेका थिए । सो कार्य रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको थियो ।

कृष्णप्रसाद अधिकारीको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशअनुसार असार २४ गते उनी सर्वोच्च अदालत समक्ष हाजिर हुनु भएको थियो । अदालतले सोही दिन उनलाई डिल्लीबजार कारागार चलान गरेको छ ।

यो मुद्दामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजिव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालिप्रसाद अधिकारी, “भीमसेन” भन्ने भिष्मराज पौडेल, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाई चितवन अदालतमा मुद्दा दायर भएको छ ।