आर्थिक

सेजन र फ्याक्टसबीच सम्झौता

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र ‘फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनी’बीच ‘स्व सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्बन्धमा आज सम्झौता भएको छ ।

आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजनका सदस्यलाई शोधवृत्ति उपलब्ध गराउने सम्झौता गरिएको हो ।
सेजनका पूर्वउपाध्यक्ष समेत रहनुभएका सञ्जय न्यौपानेको सम्झनामा स्थापना भएको शोधवृत्ति सम्झौतापत्रमा आज यहाँ सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रबन्धक मनिष झाले हस्ताक्षर गरे ।

शोधवृत्तिका लागि शुरुआतमा कम्पनीले वार्षिक रु ५० हजार सेजनलाई उपलब्ध गराउने छ भने प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । कम्पनीका महाप्रबन्धक झाले स्व न्यौपानेले अनुसन्धानमा देखाएका चासोको कदर गर्दै शोधवृत्ति कार्यक्रम ल्याइएको बताए । तथ्यमा आधारित पत्रकारितालाई प्रवद्र्धन गर्नका लागि हरेक वर्ष सेजनका सदस्यमध्ये एक जनालाई शोधवृत्ति दिइने उनको भनाइ थियो । उक्त सोधवृत्ति हरेक वर्ष सेजन स्थापना दिवसका अवसरमा वितरण गरिनेछ । शोधवृत्तिका लागि सेजनका पूर्वअध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी मूल्याङ्कन समिति गठन गर्ने व्यवस्था गरिएको सेजनले जनाएको छ ।